असोजको दुई दिनमै बैंकहरुमा २१ अर्ब निक्षेप थपियो, ९ अर्ब कर्जा विस्तार

0
Shares

कोरोना भाइरसका कारण अस्तव्यस्त भएको अर्थतन्त्रमा पछिल्ला दिनहरुमा केही कर्जाको माग देखिन थालेको छ । निषेधाज्ञा हटेर बजार खुल्न थालेपछि बैंकहरुमा निक्षेप थपिन थालेको छ भने कर्जा विस्तार समेत गर्न थालेका छन ।

चालु आर्थिक वर्षको असोज महिनाको पहिलो दुई दिन अर्थात असोज १ र २ गते वाणिज्य बैंकहरुमा २१ अर्ब निक्षेप थपिएको छ भने यसअवधिमा बैंकहरुले ९ अर्ब कर्जा प्रवाह गरेका छन।

कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले काठमाडौं उपत्यका लगायत देशका विभिन्न शहरमा गरेको निषेधाज्ञाका हटेपछि कर्जा प्रवाहमा समेत सुधार आएको हो । गत भदौ महिनामा बैंकहरुले २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । सो अवधिमा बैंकहरुमा १६ अर्ब निक्षेप थपिएको थियो ।

उद्योग व्यवसाय ठप्प भएपछि आर्थिक गतिविधिको मुख्य संयन्त्र उत्पादन, वितरण तथा मागको चक्र बिग्रिएको अवस्था छ । सञ्चालन गर्न चाहने उद्योग व्यवसायले पनि चालु पूँजी अभावको समस्या देखाइरहेको अवस्था छ ।

साउन मसान्तसम्म बैंकहरुले २८ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त अवधिसम्म बैंकहरुमा ३४ खर्ब ७९ अर्ब निक्षेप रहेको थियो । असोज २ गतेसम्म बैंकहरुको कर्जा प्रवाह बढेर २९ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ भने निक्षेप ३५ खर्ब १६ अर्ब रहेको छ ।

नेपाल राष्ट्र बैंकले उद्योगधन्दा सञ्चालन तथा नयाँ उद्यम गर्नका लागि सहज कर्जाको व्यवस्था गरेको छ । बैंक वित्तीय संस्थावाट सहुलियतमा सहज कर्जा पाउने भएपछि पछिल्ला दिनहरुमा बैंक वित्तीय संस्थामा कर्जाको माग समेत देखिन थालेको छ ।

लकडाउनको अवधिमा आर्थिक कारोबार ठप्प सरह रह्यो । बैंकमा पैसा थुप्रियो । बैंकहरुले पनि लगानी गर्ने अवस्था नहुँदा २ अर्बसम्मको अधिक तरलता भएको अवस्था थियो । वित्तीय प्रणालीमा अहिले पनि करिब पौने दुई खर्बभन्दा धेरै अधिक तरलता रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।