विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड २० लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड २० लाख ९७ हजार पुगेको समाचारमा जनााइएको छ ।
चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या ९ लाख ८१ हजार ९ सय नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ ।
यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित २ करोड ३६ लाख ७९ हजार ९०० व्यक्ति कोरोना मुक्त भएका छन् । अझै पनि विश्वमा ७४ लाख ३५ हजार २०० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् ।
कोरोना भाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ७१ लाख ३९ हजार बढी सङ्क्रमित भएका छन् भने २ लाख ६ हजार ५०० जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ । दोस्रो धेरै सङ्क्रमित भारतका छन् भने तेस्रो बढी सङ्क्रमित रहेको देश ब्राजिल हो ।
मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ । भारतमा कोरोनाभाइरस सङ्क्रमितको संख्या ५७ लाख ३२ हजार नाघेको छ । ब्राजिलमा १ लाख ३९ हजार जनाले कोरोनाभाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ९१ हजार १०० बढीको मृत्यु भएको छ ।
रुस ११ लाख २२ हजार सङ्क्रमितसहित चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको कोलम्बियामा ७ लाख ८४ हजार जनामा सङ्क्रमण रेहेको छ । छठौैं स्थानमा रहेको पेरुमा ७ लाख ८२ हजार व्यक्ति सङ्क्रमित भएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा सङ्क्रमण देखिएको छ ।
केही दिन अगाडी मात्र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो देशमा कोरोना भाइरसको दोस्रो लहर (वेभ) आउन सक्ने भन्दै अहिलेकै अवस्थामा पनि यो लहर आइसकेको अनुभव गर्न थालिएको बताएका थिए ।
यसअघि नै बेलायती वरिष्ठ चिकित्सक तथा वैज्ञानिकहरूले प्रधानमन्त्री बोरिस जोन्सनलाई यो वर्ष जाडोयाममा कोरोना भाइरसको दोस्रो लहर आउन सक्ने बताएका थिए । उनीहरुले यहाँ दोस्रो पटक भाइरसको वेभ आउन सक्ने भन्दै त्यस खतरासँग जुध्नका लागि आवश्यक तयारीका साथ बस्न भनेका हालै बताइएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया