एक महिनामा ६ अर्ब बढीको धितोपत्र सूचीकृत, २ अर्ब ९३ करोडको बोनस

0
Shares

चालु आर्थिक वर्षको पहिलो महिनामा धितोपत्र बजारमा ६ अर्ब बढीको थप धितोपत्र सूचीकृत भएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार एक महिनाको अवधिमा साधारण शेयर (आईपीओ), बोनस शेयर, डिबेन्चर र अन्य गरि ६ अर्ब १५ करोड बराबरको धितोपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको हो।

केन्द्रीय बैंकका अनुसार गत साउनमा सबैभन्दा धेरै २ अर्ब ९३ करोड बराबरको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ। यस्तै २ अर्ब बराबरको डिबेन्चर सूचीकृत भएको छ । यस्तै नेपाल धितोपत्र बोर्डले समिक्षा अवधिमा ६३ अर्ब ८६ लाख बराबरको साधारण शेयर (आईपीओ), निष्काशनका लागि अनुमति दिएको छ ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७८.३ प्रतिशत रहेको छ ।

त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ५.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.५ प्रतिशत, होटेलको हिस्सा १.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ११.६ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ साउनसम्ममा सूचीकृत ४ अर्ब ८३ करोड शेयरको चुक्ता मूल्य ४७३ अर्ब ८८ करोड रहेको छ ।

२०७७ साउनसम्ममा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २०८ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन भने ३३ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ५ अन्य समूहका रहेका छन्। २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो । मर्जरका कारण सूचीकृत कम्पनीहरुको संख्या घटेको हो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।