ट्राफिक प्रहरीलाई एमएडब्लु फाउन्डेसनबाट फेससिल्ड र मास्क सहयोग

0
Shares

कोभिड १९ को महामारीबीच पनि ड्युटीमा खट्ने ट्राफिक प्रहरीको सुरक्षालाई मध्यनजर गरी एमएडब्लु ग्रुपअन्तर्गतको एमएडब्लु फाउन्डेसनले काठमाडौं उपत्यकाका सबै ट्राफिक प्रहरीका लागि फेससिल्ड र मास्क सहयोग गरेको छ ।

एमएडब्लु फाउन्डेसनकी कार्यकारी निर्देशक तुलिका अग्रवाल तथा पूर्व एआईजी किरण गौतमले महानगरीय ट्राफिक प्रहरी महाशाखा, सिंहदरबारका प्रमुख एसएसपी भिम प्रसाद ढकाललाई फेससिल्ड र सर्जिकल मास्क हस्तान्तरण गरेका हुन ।

‘कोरानाको महामारीको समयमा पनि कर्तव्यपालनमा अहोरात्र खटिरहेका ट्राफिक प्रहरी संगठनप्रति हामी गौरावान्वित छौं र त्यसैले उहाँहरुको लागि सानै भए पनि योगदान गर्ने चेष्टा गरेका छौं,’ फाउन्डेसनकी कार्यकारी निर्देशक अग्रवालले भनीन, ‘आशा छ, यसले कर्तव्य पालना गर्दा कोरोनासँग बच्न सहयोग पु¥याउनेछ ।’ वरिष्ठ ट्राफिक प्रहरी उपरीक्षक भिम प्रसाद ढकालले सहयोगका लागि फाउन्डेसनलाई धन्यवाद दिए ।

गत साता पनि एमएडब्लु फाउन्डेसनले थानकोटस्थित अरबिन्द योग मन्दिरमा बसोबास गर्ने बालबालिकाको खाद्यान्न र स्टेशनरीका लागि आर्थिक सहयोग गरेको थियो । सो आश्रमले नेपालका तीन शाखामा करिब दुई सय १० जना बालबालिकाको रेखदेख गर्नुका साथै शिक्षा दिइरहेको छ ।

एमएडब्लु फाउन्डेसन एमएडब्लु ग्रुपले गर्दै आएको सामाजिक कार्य बढावा दिने र व्यवस्थापन गर्ने उद्देश्यसहित स्थापना भएको सामाजिक संस्था हो । यसको उद्देश्य समुदायको हित र सर्वसाधारणको मुहारमा मुस्कान ल्याउनु हो । हाल फाउन्डेसनले समुदाय विकास, सिप विकास र सडक सुरक्षा गरी तीन क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।