सिद्धार्थ बैंकको ३ अर्बको ऋणपत्रमा आवेदन खुल्यो, कति पाईन्छ ब्याज ?

0
Shares

सिद्धार्थ बैंक लिमिटेडले असोज १६ गतेदेखि ३ अर्ब बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेकोे हो। बैंकले जारी गरेको ७ वर्ष अवधिको सिद्धार्थ बैंक डिबेन्चर २०८४’ ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ८.५० प्रतिशत ब्याजदर पाउनेछन्।

निष्काशन गरिने कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गर्ने र्बैंकले जनाएको छ।

सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

सर्वसाधारणले बाँकी ११ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्काशनको ४० प्रतिशत ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। सो ऋणपत्रमा छिटोमा असोज २० गते र ढिलोमा असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाइनेछ । ७ वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्ने जनाएको छ।

बैंकको ऋणपत्रलाई इक्रा नेपालले इक्राएनपी आईआर ए माइनस एटदरेट रेटिङ्ग प्रदान गरेको छ। यो रेटिङ्ग प्राप्त गर्ने ऋणपत्र पर्याप्त मात्रामा सुरक्षित मानिन्छ र यस्ता संस्थाहरुको न्यून कर्जा जोखिम रहेको हुन्छ।

लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

नेपाल राष्ट्र बैंकले सबै बैंकहरुलाई दीर्घकालीन स्रोत परिचालनका लागि चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेपछि पछिल्लो समय सबै बैंकहरु ऋणपत्रबाट पूँजी जुटाइरहेका छन्।

सबैजसो बैंकहरुको ऋणपत्र बिक्रीमा आउन थालेपछि धितोपत्रको दोस्रो बजारमा पनि ऋणपत्रको कारोबार सहज हुन थालेको छ। यसअघि कहिलेकाँही मात्र कारोबार हुने ऋणपत्र आजभोली निरन्तरजस्तै कारोबार आउन थालेको छ।

बैंकले यसअघि पनि २ अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गरेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।