लकडाउन नदोहोर्याउन व्यवसायीको माग, पुर्नउत्थानका कार्यक्रम ल्याउन आग्रह

0
Shares

राष्ट्रिय व्यवसायिक पहल (एनबिआई) ले लकडाउन नदोहोर्याउन सरकारसंग अनुरोध गरेको छ।

एनबिआईका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकाललाई भेटगरी लकडाउन नदोहोर्याउन सरकारसंग अनुरोध गरेको हो ।

भेटघाटमा पहलका अध्यक्ष कुशकुमार जोशीले कोरोना महामारी नियन्त्रणको लागि सरकारले जारी गरेको ६ महिना भन्दा लामो लकडाउनका कारण सम्पूर्ण व्यवसायिक क्षेत्र धराशायी भएको बताउँदै मुलुकले अब थप अनिश्चितकालिन बन्द थेग्न नसक्ने भन्दै यसको विकल्पमा ध्यान दिन सरकारसंग आग्रह गरे ।

सरकारले लकडाउन खुकुलो पारेसंगै विस्तारै अर्थतन्त्रले गति लिन शुरु गरेको वताउदै कोभिडले निम्त्याउने सक्ने जोखिम समाजमा केहि वर्ष सम्म रहन सक्ने विज्ञहरुले अनुमान गरेकाले सम्भावित जोखिम न्युनीकरण गरी व्यवसायिक क्रियाकलापलाई सुरक्षित एवं बैज्ञानिक रुपमा सञ्चालन गर्न निजी क्षेत्र प्रतिवद्ध छ र यसमा सरकारको ठोस सहयोगको आवश्यकता रहेको बताए ।

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले विप्रेषणमा आधारित नेपाली अर्थतन्त्र, पर्यटन क्षेत्र, सेवा व्यापार, यातायात क्षेत्र, निर्यात व्यापार, रोजगारी कटौती लगायत साना, मध्यम तथा ठुला सवै खालका व्यवसाय धरासायी भएको वताउदै समग्र अर्थतन्त्रको सुक्ष्म अध्ययन गरी अर्थतन्त्रलाई जोगाउन अल्पकालिन तथा दिर्घकालिन योजना, राहत तथा पुर्नउत्थानका कार्यक्रमका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

पहलका महासचिव सुरेन्द्रवीर मालाकारले विभिन्न समस्याका विच अघि बढिरहेको नेपालको औद्योगिक व्यवसायिक क्षेत्रमा कोभिडले थप नयां गम्भिर चुनौति सिर्जना गरेको वताउदैयसको समाधानमा सरकारतथा निजी क्षेत्रको ठोस सहकार्यको आवश्यकता औल्याए ।
सो भेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड १९ को नियन्त्रण र आर्थिक गतिविधीलाई सुचारु गर्न राष्ट्रिय व्यवसायिक पहलले लिएको

जिम्मेवार व्यवसायिक अभ्यासलाई सह्राहना गदै निजी क्षेत्रबाट प्राप्त महत्वपूर्ण सुझावलाई स्वास्थ्य मन्त्रालयले गम्भिरतापूर्वक लिएको धारणा राखे । उनले पहलको सुझाब कार्यान्वयनका लागि सम्वन्धित सवै निकायसंग सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै गरे । लकडाउनको विषयमा आएको समाचारमा सत्यता नभएको बताउदै सरकार अब लकडाउनलाई निरन्तरता दिने मनस्थितिमा नरहेको जानकारी गराउदै निजी क्षेत्रलाईआश्वस्त गराए ।

प्रतिनिधिमण्डलमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष एवं राष्ट्रिय व्यवसायिक पहलका महासचिव सुरेन्द्रवीर मालाकार, नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष एव राष्ट्रिय व्यवसायिक पहलका कोषाध्यक्ष दिपक मलहोत्रा, रेष्टुरेन्ट तथा वार एशोसिएसन नेपालका अध्यक्ष अरनिको राजभण्डारी एवं होटल एशोसिएसन नेपालका प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।