नागरिक स्टक डिलर कम्पनीको प्रमुखमा महेश्वरलाल श्रेष्ठ नियुक्त

0
Shares

नागरिक स्टक डिलर कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा महेश्वरलाल श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ खुला प्रतिस्पर्धाबाट सीइओ नियुक्त भएका हुन् ।

शंकरकुमार रायमाझिको संयोजकत्वमा गठित सीईओ छनौट उपसमितिले शनिबारको अन्तवार्तापछि आइतबार श्रेष्ठलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

खुला प्रतिस्पर्धाबाट सीईओ छनौटका लागि ४ जना आवेदक मध्येबाट शैक्षिक योग्यता, उमेर र अनुभवको आधारमा चार जनाबाट उपसमितिले शैक्षिक योग्यता, उमेर र अनुभवको आधारमा महेश्वरलाल श्रेष्ठ र सन्तोषराज नेपालको नाम सिफारिस गरी असोज १७ गते शनिबार अन्तवार्ता लिएको थियो।

शनिबार भएको दुवै उम्मेदवारको अन्तर्वार्ताको ब्यबसायी रणनीति, र कार्ययोजना प्रस्तुतीकरणको आधारमा श्रेष्ठ सीइओमा नियुक्त भएका हुन् ।

को हुन् श्रेष्ठ ?

नागरिक स्टक डिलर कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनौट भएका श्रेष्ठ नेपाल राष्ट्र बैंकबाट कार्यकारी निर्देशक पदबाट अवकाशप्राप्त कर्मचारी हुन् ।

त्रिपुरेश्वर काठमाण्डौंमा जन्मिएका श्रेष्ठले आफ्नो करियरको ३० वर्ष नेपाल राष्ट्र बैंकमा बिताएका थिए । श्रेष्ठले अवकास हुनभन्दा अघि कर्पोरेट प्लानिङ्गमा समेत काम गरेका थिए ।

राष्ट्र बैंकमा बैंक सुपरिवक्षेण विभागको नेतृत्व गरेका श्रेष्ठ चार्टर्ड एकाउन्टेन्ट पनि हुन् ।

श्रेष्ठ पाँच वर्ष नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत समेत रहेका थिए । सो समयमा उनी राष्ट्र बैंकको तर्फबाट सीईओ नियुक्त भएका थिए ।

नागरिक स्टक डिलर कम्पनीको सीईओ पदका लागि सन्तोषराज नेपाल, विशाल अग्रवाल, महेश्वर लाल श्रेष्ठ र इन्द्र कट्टेलले आवेदन दिएका थिए ।

सीईओ पदका लागि व्यवस्थापन वा अर्थशास्त्र वा वाणिज्य शास्त्र वा वित्तशास्त्रमा स्नातकोत्तर गरेको वा स्नातक तह उतिर्ण सहित सिए उपाधि हासिल गरेको हुनुपर्ने तोकिएको थियो । त्यस्तै बैंक वित्तीय संस्था वा सूचीकृत कम्पनीमा कम्तिमा ४ वर्ष व्यवस्थापकीय तहमा काम गरेको हुनुपर्ने उल्लेख थियो ।

नागरिक लगानी कोषले सर्वसाधारणको समेत स्वामित्व रहने गरी २०७६ माघ २९ गते ५ अर्ब चुक्ता पूँजीको ‘नागरिक स्टक डिलर’ कम्पनी दर्ता गरेको थियो । कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ, चुक्ता पूँजी ५ अर्ब रुपैयाँ राखिएको छ ।

नेपाल धितोपत्र बोर्डले नियमावली संशोधन गराएर कोषलाई स्टक डिलरको रुपमा काम गर्ने बाटो खोलिदिएपछि कोषले कम्पनी दर्ता गराएको थियो ।

चार वटा कम्पनीको लगानीमा खोलिएको उक्त कम्पनीमा नागरिक लगानी कोषको ५१ प्रतिशत शेयर स्मामित्व रहेको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) को ९ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर रहने छ ।

कम्पनीमा कोषको दुई अर्ब ५५ करोड रुपैयाँ लगानी हुनेछ भने टेलिकमले ५० करोड, पुर्नबीमा कम्पनीको ४५ करोड र एक अर्ब ५० करोड सर्वसाधारणको लगानी रहने कम्पनीले जनाएको छ ।

शेयर बजारमा ठूलो घटबढ हुन नदिन स्टक डिलर स्थापना गरिएको हो । यो कम्पनीले शेयर बजामा १५ अर्ब बराबर रकम लगानी गर्ने योजना बनाएको छ । कम्पनीले आफ्नो ५ अर्ब रुपैयाँ र बजारबाट बास्केट फण्डको रुपमा उठाएको १० अर्ब रुपैयाँ लगानी गर्ने योजना अघि सारेको थियो ।

डिलर कम्पनीले साउनदेखि नै धितोपत्रको दोस्रो बजारमा लगानी गर्ने बताइए पनि असोज पुर्याइएको थियो। सरकारले भदौमा पुन लकडाउन गरेपछि अब दशैं तिहारपछि मात्र डिलर कम्पनीले दोस्रो बजारबाट शेयर खरीद बिक्री गर्नेछ । कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको नियुक्तीमा भएको ढिलाईले समेत लय अनुरुपको कार्ययोजना अगाडि बढ्न सकेको थिएन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।