जनरल इन्स्योरेन्सको मंगलबार यसकारण भएन दोस्रो बजारमा शेयर कारोबार

0
Shares

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको धितोपत्रको दोस्रो बजारमा बुधबारदेखि मात्र कारोबार हुने भएको छ । मंगलबार कम्पनीको शेयर प्रि-ओपनिङ सेसनमा म्याचिङ भई कारोबार हुन नसक्दा नियमित सेसनको कारोबारमा आउन नसकेको हो ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १ करोड कित्ता शेयर सूचीकरण गरेर मंगलबारदेखि शेयर कारोबार खुला गर्ने तयारी गरेको थियो । तर सो अनुरुप मंगलबार नेप्सेको स्पेशल प्रि-ओपनिङ्ग सेसनमा जनरल इन्स्योरेन्स कम्पनी नेपालको शेयर कारोबारमा आउन नसकेपछि मंगलबार कारोबार हुन नसकेको हो ।

अब बुधबार बिहान १०ः३० देखि १०ः४५ बजेको स्पेशल प्रि ओपनिङ्ग सेसनमा कारोबार भएमा मात्र बुधबार कम्पनीको शेयर नियमित कारोबारमा आउनेछ । बुधबार पनि स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीको शेयर कारोबार हुन नसकेको खण्डमा भने जुन दिन स्पेशल प्रि ओपनिङ्ग सेसनमा कारोबार सम्भव हुन्छ सोही दिनदेखि मात्र नियमति कारोबारमा आउनेछ ।

नेप्सेको नियमअनुसार नेप्सेमा सूचीकृत भई पहिलो पटक कारोबारका सञ्चालका लागि सर्वप्रथम प्रि–ओपनिङ सेसनमा खरीद र बिक्री आदेश म्याचिङ भई कारोबार सम्पन्न हुनपर्छ ।

नेप्सेले मंगलबारदेखि कारोबारका लागि जीआईसी कारोबार संकेत र पहिलो कारोबारका लागि १०१.७६ देखि अधिकतम ३०५.२८ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज तोकेको थियो ।

आईपीओ निष्काशनपछि कम्पनीमा संस्थापक ७० र सर्वसाधारणको हिस्सा ३० प्रतिशत रहेको छ भने चुक्ता पूँजी १ अर्ब कायम भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।