सूचीकरण नविकरण शुल्क नबुझाउने पाँच कम्पनी नेप्सेको कारबाहीमा, शेयर कारोबार रोकियो

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएर शेयर बजारमा नियमित कारोबारमा आएर कारोबार भइरहेका पाँच कम्पनीले तोकिएको समयमा वार्षिक सूचीकरण नवीकरण शुल्क नबुझाउँदा नेप्सेको कारबाहीमा परेका छन् ।

नेप्सेका अनुसार असोज मसान्तभित्र सबै कम्पनीले तोकिएको वार्षिक शुल्क बुझाई सक्नुपर्ने भएपनि हालसम्म ती पाँच कम्पनीले नविकरण शुल्क नबुझाएका हुन् ।

नेप्सेले असोजको पहिलो साता नै नविकरण शुल्क बुझाउन सबै सूचीकृत कम्पनीहरुलाई पत्राचार गरेको थियो ।

नेप्सेमा सूचीकृत करिब २०० वटा कम्पनीले नविकरण शुल्क बुझाएपनि हिमालयन डिष्ट्रिलरी, नेपाल हाइड्रोपावर, जोशी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र मल्टिपर्पस फाइनान्सले भने नविकरण शुल्क नबुझाएपछि नेप्सेले ती पाँच कम्पनीको आइतबार शेयर कारोबार रोक्का गरेको हो ।

वरिष्ठ अधिकृत तथा प्रवक्ता मुराहरि पराजुलीले भने–“ तोकिएको समयमा नवीकरण शुल्क नबुझाउने कम्पनीलाई नेप्सेले कारोबार रोक्का गरेको हो ।”

यी कम्पनीहरु बाहेक नियमित कारोबारमा नआउने र कतिपय लिक्वीडेसनमा गएका समेत गरी अन्य २० कम्पनीहरुले पनि सूचीकरण शुल्क नबुझाएको प्रवक्ता पराजुलीले जानकारी दिए । नविकरण शुल्क नबुझाउन कम्पनीहरुमा ६ वटा फाइनान्स कम्पनी, ३ हाइड्रो कम्पनी, १४ उत्पादनमूलक कम्पनी, होटल र अन्य समूहको १/१ कम्पनी रहेका छन् । 

  • कति बुझाउनुपर्छ नविरकण शुल्क ?

नेप्सेमा समावेश भएका कम्पनीको शेयर/डिवेन्चर सूचीकृत भई वित्तीय मध्यस्तकर्ता मार्फत कारोबार हुँदै आएका कम्पनीले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २४ मा भएको व्यवस्था अनुसार आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र वार्षिक नविकरण शुल्क अनिवार्य रुपमा बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

यस व्यवस्था अनुसार ५० करोड रुपैयाँसम्मको चुक्ता पूँजी भएका कम्पनीले ५० हजार रुपैयाँ र ५० करोडभन्दा माथि चुक्ता पूँजी रहेको कम्पनीले १ लाख रुपैयाँ वार्षिक नवीकरण शुल्क तिर्नुपर्ने व्यवस्था छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।