वाणिज्य विभागद्धारा बजार अनुगमनबाट ७८ लाख जरिवाना संकलन


वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बजार अनुगमनबाट ७८ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ । गत असोज १ गतेदेखि ३० गतेसम्म गरेको बजार अनुगमनका क्रममा कानून र मापदण्ड विपरित कार्य गर्ने १३७ पसललाई कारवाही स्वरुप जरिवाना गर्दा ७८ लाख ५७ हजार राजश्व संकलन भएको विभागले जनाएको हो ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार एक महिनाको अवधिमा ८०१ फर्मको अनुगमन गर्दा १३७ फर्मलाई जरिवाना गरिएको हो ।

अनुगमनका क्रममा ९८ हजार ७८२ रुपैयाँ बराबरको खान अयोग्य तथा म्याद सकिएको खाद्य वस्तुको नष्ट गरिएको थियो ।

उनका अनुसार सो अवधिमा १०४ फारामलाई आवश्यक कागजात वा स्पष्टीकरण पेश गर्न, २२ फारामको कारोवार रोक्का तथा सिलबन्दी गरिएको र छ जना व्यक्ति तथा साधनलाई नियन्त्रणमा लिइएको थियो । यसैगरी ४८४ फाराममा सामान्य कैफियत देखिएर तत्काल सुधार गर्न निर्देशन दिइएको छ ।

विभागको तथ्याङ्कअनुसार गैरकानूनी व्यापारिक क्रियाकलाप गर्नेमध्येमा सबैभन्दा धेरै फलफूल तथा तरकारी पसललाई जरिवाना गरिएको छ । ३३ वटा फलफूल तथा तरकारी पसलको अनुगमन गर्दा २२ पसललाई कारवाही गरिएको थियो ।

कारवाहीबाट १४ लाख ६२ हजार रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी फूलफूल तथा तरकारीपछि सबैभन्दा धेरै कारवाही पानी उद्योगलाई गरिएको छ । ४५ पानी उद्योगको अनुगमन गर्दा १४ उद्योगलाई कारवाही गर्दा १४ लाख रुपैयाँ जरिवाना संकलन भएको विभागले जनाएको छ ।

विभागका अनुसार अनलाइन पसलबाट पाँच लाख ८० हजार, औषधि पसलबाट पाँच लाख १५ हजार, खाद्य तथा किराना पसलबाट ९५ हजार, गार्मेन्टबाट ५० हजार रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी ग्यास पसलबाट एक लाख, पाटी प्यालेसबाट तीन लाख, मार्टबाट पाँच लाख, मासु पसलबाट तीन लाख, रेष्टुरेन्टबाट दुई लाख रुपौयँ राजश्व संकलन भएको छ ।

विगत एक महिनाको अवधिमा काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका ६० खालका फाराम तथा उद्योगको अनुगमन गरिएको जनाइएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोवार गर्ने पसललाई जरिवाना गरिएको विभागले जनाएको छ । विभागले चार्डपर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाका तीन जिल्लामा छुट्टाछुट्टै अनुगमन टोलीमार्फत अनुगमनलाई निरन्तरता दिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।