मुलुकको शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमा

0
Shares

चालु आर्थिक वर्षको भदौसम्ममा देशको शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोड रुपैयाँले बचतमा रहेको छ । गत आर्थिक वर्षको भदौसम्ममा शोधनान्तर स्थिती ८ अर्ब ७३ करोड रुपैयाँले बचतमा रहेको थियो ।

चालु आर्थिक वर्षको भदौसम्ममा रेमिट्यान्स आप्रवाहमा ८ प्रतिशतले वृद्धि, निर्यात बढ्नु तथा आयात घटेपछि शोधनान्तर अवस्थामा सुधार आएको हो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २१ करोड ७६ लाखले बचतमा रहेको छ ।

चालु आर्थिक वर्षको साउनमा ५१ अर्ब ४६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति भदौमा १६ अर्ब १७ करोड रुपैयाँले वढेर ६७ अर्ब ६३ करोड रुपैयाँ बचतमा रहेको छ ।

चालु आवको भदौसम्ममा चालु खाता २६ अर्ब ७ करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा चालु खाता २२ अर्ब ६९ करोडले घाटामा रहेको थियो ।

चालु आवको भदौसम्ममा पुँजीगत ट्रान्सफरमा ३३.७ प्रतिशतले कमी आई १ अर्ब ९६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २३.३ प्रतिशतले वृद्धि भई २ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ९६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।