चाडपर्वले चलायमान अर्थतन्त्र, १० अर्ब बराबरको लत्तकपडाको मात्र कारोबार


दशैं, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ । दशैं सकिन लागेको र तिहार तथा छठ पर्वको आगमनसँगै जनकपुरसहित देशभरका बजारहरुमा चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेहरुको भीड बढ्दै गएको छ ।

दशैंं सकाएर काममा फर्किनेहरु तथा तिहार र छठपर्व मनाउनका लागि आ–आफ्नो गाउँघर आउनेहरुको क्रम जारी छ । सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ । कर्मचारीले दुई महिनाको तलब एकै महिना खर्च गर्छन् । यसले पनि दशैंंमा अर्थतन्त्र कति चलायमान हुन्छ भन्ने देखाउँछ ।

वर्षभरि कर्मचारीले १३ महिनाको तलब पाउँछन् । थप एक महिनाको तलब दशैं खर्चका लागि दिइने पुरानो चलनका कारण र बजारमा पैसा चलायमान हुने भएकाले दशैंलाई अर्थतन्त्र चलायमान बनाउने एउटा प्रमुख पर्व भएको अर्थशास्त्री डा सुरेन्द्र लाभको भनाइ छ ।

दशंैं तिहारलाई लक्षित गरी नयाँ सवारी साधन खरिदमा छुट, सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा यही बेला हुनाले पनि अर्थतन्त्र चलायमान हुने गरेको हो ।

“पहिले पनि दशैं अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख पर्व थियो । पहिले दशैंं विशेषमा मात्र किनमेलका लागि बजार लाग्थ्यो भने हाल पर्याप्त समय निकाल्न नसकेका नेपालीले यही अवसरमा लत्ताकपडासहित सामानको किनमेल गर्ने गर्दछन् ।

कतिपयमा यही समयमै खरिद गर्नुपर्छ भन्ने मानसिकता समेत विकसित भएको देखिन्छ”, अर्थशास्त्री डा लाभले भने । व्यवसायीहरुका अनुसार दशैंमा करिब रु १० अर्ब मूल्य बराबरको लत्तकपडा मात्र किनबेच हुन्छ भने त्यसबाहेक पनि खाद्यान्न, माछा, मासु एवम् पेय पदार्थको समेत कारोबार बढ्ने व्यवसायीहरुको भनाइ छ ।

जनकपुरमा मात्र हरेक वर्ष दशैंंमा २५ हजार खसिबोका खपत हुने तथ्याङ्क छ । यसरी वर्षमा एकपटक नयाँ लुगा सिलाउने, मासुभात खाने, रमाइलो गर्ने चाड भएकाले पनि खर्च बढ्ने गरेको कतिपय अर्थविद्को भनाइ छ । उनीहरुका अनुसार दशैंंले अर्थतन्त्रलाई पुनर्जीवन दिन्छ । करिब पाँच लाख कर्मचारीका लागि चार अर्बभन्दा बढी रकम दशंैं खर्चबापत मात्र दिइने गरेको अर्थ मन्त्रालयको तथ्याङ्क छ ।

यसबाहेक निजी क्षेत्रका सङ्घसंस्था, बैंक तथा वित्तीय संस्थाले पनि कर्मचारीलाई दशैं खर्चबापत बोनस तथा भत्ता दिन्छन् । यसले पनि आर्थिक परिचालनमा मद्दत गरेको छ । पछिल्ला वर्षहरुमा बजारमा चहलपहल बढ्ने अर्को कारण दशैंको समयमा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भएको अर्थशास्त्रीहरु बताउँछन् ।

विदेश बस्ने नेपालीले यही समयमा बढी रेमिट्यान्स पठाउने गरेका छन् । अन्य महिनाको तुलनामा दशैंमा करिब २५ देखि ३० प्रतिशत बढी रकम रेमिट्यान्स आउने गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार औषतमा दशैंताका करिब १०/१५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिन्छ । यसमा भारतमा काम गर्न गएका नेपालीले दशैंमा घर फर्किदा लिएर आउने रकम भने जोडिएको छैन । भारतमा हजारौंको सङ्ख्यामा नेपालीहरु कार्यरत रहेकाले पनि यसको हिस्सा नेपालको अर्थतन्त्रमा फराकिलो हुने गर्दछ ।

अर्थविद्हरुका अनुसार दसैं अघिका दुई–तीन हप्ताको अवधिमा वर्षभरीको कूल राष्ट्रिय उपभोगको २० प्रतिशत जति उपभोग हुने देखिन्छ । दशैंदेखि छठ पर्वसम्म बजारमा करिब पाँच अर्बको कारोबार हुने गरेकाले पनि यो प्रमुख चाडपर्वको अर्थिक पाटो वास्तवमा नै बृहत रहेको अर्थशास्त्री डा सुरेन्द्र लाभको भनाइ छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।