तिनाउ मिसनले संस्थापक हिस्सा घटाउने, मंसिर ७ गते विशेष साधारण सभा आह्वान

0
Shares

तिनाउ मिसन डेभलपमेन्ट बैंकले बैंकमा रहेको संस्थापक शेयरको हिस्सा घटाउने भएको छ । बैंकले हाल कायम रहेको ६३.५६ प्रतिशत संस्थापक शेयर अनुपातलाई बैंकको प्रबन्धपत्र संशोधन गरी ५३.३३ प्रतिशतमा घटाउने भएको हो ।

जसका लागि बैंक सञ्चालक समितिको कार्तिक १७ गते, सोमबार सम्पन्न बैठकले आगामी मंसिर ७ गते बैंकको केन्द्रीय कार्यालय बुटवल, रुपन्देहीमा दिउँसो १ बजे विशेष साधारण सभा आह्वान गरेको छ । उक्त साधारण सभा भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

संशोधनपछि संस्थापक समूहको हिस्सा ५३.३३ प्रतिशतमा झर्नेछ भने सर्वसाधारण समूहको हिस्सा ३६.६७ प्रतिशतबाट वृद्धि भई ४६.६७ प्रतिशत कायम हुनेछ । शेयर संरचना परिवर्तनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भैसकेको बैंकले जनाएको छ ।

विशेष साधारण सभाले स्वीकृत गरिएको प्रस्तावित प्रबन्धपत्रको संशोधन कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक तथा अन्य निकायबाट स्वीकृत गराउनका लागि आवश्यकता अनुसार सोमा थपघट गर्न वा सच्याउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

बैंकले विशेष साधारण सभा प्रयोजनको लागि कार्तिक २६ गते, बुधबार शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । यसअनुसार कार्तिक २५ गते मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।