तीन ठूला परियोजनाका लागि ३८ अर्ब ६८ करोड लगानी स्वीकृत

0
Shares

लगानी बोर्डको ४५ औं बैठकले ३ वटा जलविद्युत परियोजना निर्माणका लागि ३८ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृति गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार राती बसेको ४५ औं बोर्ड बैठकले ७७.५ मेगावाटको घुन्सा खोला, ५७ मेगावाटको हिमचुली दोर्दी र ६५ मेगावाटको दुधखोला आयोजना बनाउनका लागि लगानी स्वीकृत गरेको हो ।

बोर्डका अनुसार ७७।५ मेगावाटको घुन्सा खोला जलविद्युत आयोजनालाई १७ अर्ब ६२ करोड ४० लाख रुपैयाँ लगानी स्वीकृत गरेको छ । यस्तै ५७ मेगावाटको हिमचुली दोर्दीखोला जलविद्युत आयोजनाका लागि १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाटको दुधखोला जलविद्युत आयोजना बनाउन १० अर्ब ४२ करोड ६० लाख रुपैयाँ लगानी स्वीकृत गरेको हो ।

यी तीनवटै जलविद्युत आयोजना सार्वजनिक निजी साझेदारी (पीपीपी) खाकामा निर्माण हुने छन् । त्यसैगरी बैठकमा बोर्डको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि परियोजना बैंक र विभिन्न सरोकारवाला निकायहरुसँग परामर्शगरी बोर्डको रणनीतिक योजना तर्जुमा गर्ने विषयमा समेत छलफल भएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार लगानीकर्तालाई एकल बिन्दू सेवा केन्द्रद्वारा सहज र शीघ्र सेवा प्रदान गर्न उक्त केन्द्रलाई स्वचालित बनाउने तथा नलेज म्यानेजमेन्ट पोर्टलको स्थापना र उपयोग गर्ने सम्बन्धमा छलफल गर्ने पनि भएको छ।

बैठकमा लगानी बोर्डका सीईओ सुशील भट्टले लगानी बोर्डमार्फत् प्रबर्द्धन र सहजीकरण भएका परियोजनाहरु कार्यान्वयनको अवस्था र बोर्डका गतिबिधिबारे जानकारी गराएका थिए।

बोर्डको अध्यक्ष समेत रहने प्रधानमन्त्रीको अध्यक्षतामा बसेको सो बैठकमा अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष बिष्णु पौडेल, सो बोर्डका सदस्य रहने बिभिन्न मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्र बैंकका गभर्नर लगायत बोर्डका सदस्य तथा प्रतिनिधिहरुको उपस्थिति थियो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।