ढकाल प्यानलका दुई केन्द्रीय सदस्य निर्विरोध


नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहबाट दुई जना केन्द्रीय सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

ढकाल समूहका उम्मेदवारहरु प्रदेश १ बाट केन्द्रीय सदस्यमा राजेन्द्र राउत र एशोसियटतर्फ द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भएका हुन् ।
यसअघि मोरङ व्यापार संघको कार्यकारी सदस्य समेत रहेका राउत हाल नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नं १ को उपाध्यक्ष समेत हुन् ।

विराटनगर निवासी राउतको निर्बिरोध विजयलाई ढकाल समूहले एक महत्वपूण विजयका रुपमा लिएको छ । किनभने मोरङ अर्का वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानको गृह जिल्ला हो ।

ढकाल समूहका सदस्य तथा पदाधिकारीहरुले १ नं प्रदेशबाट नै यसरी विजय यात्रा शुरु भएकोले निर्वाचनमा आफूहरुको समूहको विजय सुनिश्चित भएको दाबी गरेका छन् ।

आज उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने अन्तिम दिन हो । आज पाँच बजेसम्म पनि कसैको उम्मेदवारी नपरेपछि १ नं प्रदेशबाट राउत निर्विरोध भएका हुन् ।

त्यस्तै, अर्का निर्विरोध निर्वाचित अग्रवाल नेपाल ईन्डोनेशिया च्याम्बर अफ कमर्शका अध्यक्ष हुन् । अग्रवालले एशोसिएटतर्फबाट द्विराष्ट्रिय च्याम्बर अन्तर्गत निर्विरोध भएका हुन् ।

उपाध्यक्षका उम्मेदवार ढकाल हालैमात्र निर्वाचन प्रचारका क्रममा १ नं प्रदेशको भेडेटारमा जानुभएको थियो । त्यस क्रममा ५२ जिल्ला नगर अध्यक्ष सहित एक सयभन्दा बढी उद्योगी व्यवसायी त्यहाँ पुगेका थिए । त्यस क्रममा उनीहरुले ढकाललाई समर्थन गर्ने बताएका थिए ।

यहीं मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा आयोजना हुने महासंघको ५४औ वार्षिक साधारणसभा तथा निर्वाचनमा वर्तमान उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानल नै बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।