भारतीय शेयर बजारको बबल छिट्टै फुट्ने जोखिम बढ्दै, नेपाली लगानीकर्ता पनि होसियार हुन जरुरी

0
Shares

भारतीय शेयर बजार सूचक अहिले उच्च बिन्दुमा पुगेको छ । अहिले मुम्बइ स्टक एक्सेचेन्ज सूचक (सेनसेक्स) ४४ हजारको बिन्दुमा पुगेको छ । तर, अर्थतन्त्रका अधिकांश सूचकहरुका प्रतिवेदन नकरात्मक रहेका छन । यस्तो अवस्थामा शेयर बजारको उच्च सुधारलाई बबलको रुपमा चर्चा हुन थालेको छ । बजारका जानकारको भनाई पनि पूँजी बजारमा बुलिस ट्रेण्ड सकिएको हुनाले छिट्टै उच्च अंकको करेक्शन आउनेवाला छ ।

नोभेम्बर महिनामा विदेशी पोर्टफोलियो लगानीकर्ताले ठूलो मात्रामा शेयर खरिद गरेको छन । जसले गर्दा बजारमा बुल आएको हो ।

कोरोना भाइरस नियन्त्रणका लागि भारत सरकारले गरेको लकडाउनको अवधिमा विदेशी पोर्टफोलियो लगानीकर्ताले यसरी शेयर खरिद गरेका थिएनन ।

नोभेम्बर महिनाको सुरुवाती २० दिनमा मात्र ४४ हजार करोड भारु भन्दा धेरैको रकम शेयर बजारमा आएको छ । यो अवधिमा सेन्सेक्स सूचक ११ प्रतिशत भन्दा धेरैले बढेको छ ।

विज्ञका अनुसार सूचिकृत कम्पनीको कार्यासम्पादन सकरात्मक आएको अवस्थामा पनि शेयर मूल्यमा सुधार आउन सकेको छैन । तर, विदेशी पोर्टफोलियो लगानीकर्ताले लगानी सुरु गरेको खबरले बजार सूचक उच्च अंकले बढ्ने गरेको छ । डिसेम्बर महिनामा विदेशी पोर्टफोलियो लगानीकर्ताको लगानीमा कमी आउने भएकाले बजारमा गिरावट निश्चित जस्तै छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टिमले अमेरिकी ट्रेजरीबाट आपतकालीन कर्जा प्रवाहमा रोक लगाएको अवस्था छ । नव निर्वाचित राष्ट्रपति जो बाइडेन र ट्रम्प बीच शक्ती संघर्षको कारणले विश्व अर्थतन्त्रमा यसको असर पर्ने देखिन्छ । ट्रम्पले नवनिर्वाचित राष्ट्रपतिलाई सत्ताको साँचो बुझाउन नमानिरहेको हुनाले त्यसको असर शेयर बजारमा प्रत्यक्ष पर्ने देखिन्छ ।

त्यसका साथै भारतमा समेत कोरोना संक्रमण दिन प्रतिदिन बढ्दो रुपमा रहेको छ । कोरोना नियन्त्रणका लागि पछिल्लो समयमा नयाँ शिराबाट लकडाउन लगाउन थालिएको छ । पछिल्लो समयमा कोरोना संक्रमण तिब्र गतिमा फैलिन थालेपछि महाराष्ट्र सरकारले ट्रेन र हवाई सेवामा रोक लगाउने विषयमा छलफल सुरु गरेको अवस्था छ । कोरोना विज्ञका अनुसार जाडो मौसमममा कोरोनाको संक्रमणको नयाँ तरङ्ग आउने देखिन्छ । जुन निकै जोखिमपूर्ण हुने समेत उनीहरुको विश्लेषण रहेको छ । त्यसकारणले पनि कोरोनाको असर बजारमा देखिने सम्भावना छ ।

केही समय अघि भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासले शेयर बजारको चाल अर्थतन्त्र भन्दा उल्टो दिशामा रहेको बताएका थिए । यस्तो अवस्थामा शेयर बजारमा प्रवेश गर्नुभन्दा अघि धेरै सोच विचार गरेर मात्र लगानी गर्न आग्रह गरेका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।