धितोपत्रको बजार पूँजीकरण हालसम्मकै उच्च, एकैदिन ४० अर्बले बढ्दा २४ खर्बमाथि

धितोपत्रको बजार पूँजीकरण हालसम्मकै उच्च, एकैदिन ४० अर्बले बढ्दा २४ खर्बमाथि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आएको ३० अंकको सुधारसँगै एकैदिन ४० अर्ब रुपैयाँले बजार पूँजीकरण बढ्दा हालसम्मकै उच्च बिन्दुमा पुग्दै ऐतिहासिक रेकर्ड कायम भएको हो ।

मंगलबार नेप्से २९.६८ अंकले बढेर १ हजार ८१० दशमलव ११ बिन्दुमा बन्द हुँदा पूँजीकरण रकम ४० अर्बले बढेर २४ खर्ब २६ अर्ब २ करोड ८४ लाख ७० हजार रुपैयाँ पुगेको हो । धितोपत्रको दोस्रो बजारको विस्तारसँगै आकारमा पनि उल्लेख्य सुधार आएको छ ।

नेप्सेमा सूचीकृत शेयरको संख्या र शेयरको मूल्य वृद्धिसँगै बजार सूचक पनि बढ्दो क्रममा देखिएपछि धितोपत्रको बजारको आकार बढेको हो । बजार पूँजीकरण र कारोबार रकमका आधारमा मात्र होइन्, बिहीबार एकैदिन कारोबार भएको शेयरसंख्याका आधारमा समेत नयाँ रेकर्ड बनेको छ ।

यसअघि मंसिर ७ गते आइतबार शेयर बजारको आकार २३ खर्ब ८८ अर्ब ९८ करोड ६९ लाख थियो । नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको शेयर मूल्यको महत्वपूर्ण भूमिका हुन्छ । बजार पूँजीकरणलाई शेयर बजारको सम्पत्तिको रुपमा बुझिन्छ । नेप्सेमा सूचीकृत शेयरहरुको कूल बजार मूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको शेयर मूल्य र शेयर संख्याको गुणनफल नै बजार पूँजीकरण हो ।

यसअवधिमा बजारमा शेयरको आपूर्ति उल्लेख्य बढेको छ । यो अवधिमा बैंक वित्तीय संस्थाको चुक्ता पूँजी ४ गुणा भन्दा धेरैले बढेको छ भने जलविद्युत तथा उत्पादन मुलक क्षेत्रका कम्पनीहरुको सहभागिता पनि बढेको छ । सूचीकृत कम्पनीको बोनस तथा हकप्रद शेयर पनि उत्तिकै थपिएको छ । त्यसैगरी नयाँ बीमा कम्पनी र अन्य कम्पनीहरुको पनि शेयरको आपूर्ति बढेको छ ।

कोरोना भाइरसका कारण समग्र अर्थतन्त्र गतिशिल हुन नसकेको अवस्थामा शेयर बजारमा भने आकर्षक देखिन थालेको छ । पछिल्लो समयमा लगानीका अन्य क्षेत्र संकुचित भई बैंकहरु समेत शेयर बजारमा प्रवशे गरेर शेयर खरीद गर्न थाल्दा समेत नेप्से सूचकमा निरन्तर वृद्धि टिकेको छ ।

त्यतिमात्र नभई बैंक वित्तीय संस्थाको ब्याजदर घटेको हुनाले निक्षेप र बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको ऋण समेत शेयर बजार थपिएको अनुमान छ । त्यसले बजार बजार सुधारमा महत्वपुर्ण भुमिका खेलेको छ ।

मंगलबार ब्यापार, उत्पादन, अन्य, निर्जीबन बीमा, जीबन बीमा र बैंक तथा वित्तीय संस्थाको शेयर मूल्यमा आएको सुधारले आगामी दिनमा बजार अझै बढ्ने संकेत देखिन्छ ।

बजार पूँजीकरण भने कम्पनीको शेयर र अघिल्लो दिनको अन्तिम मूल्यको गुणनफल भएकाले शेयर मूल्यसँगै पूँजीकरण पनि बढ्छ । हाम्रो बजारमा संस्थापक र पब्लिक शेयर दुबै भएपनि दैनिक कारोबारमा पब्लिक नै धेरै हुन्छ । मंगलबार फ्लोट मार्केट क्याप पनि ८ खर्ब ३८ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । नेप्से १८८१ मा रहेको दिन २०७३ साउन १२ गते फ्लोट मार्केट क्याप ६ खर्ब ९१ अर्ब ४७ करोड रुपैयाँ थियो ।

बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ मंसिर २०७७, मंगलबार १६ : ५९ बजे