रेमिट्यान्स आप्रवाहमा सुधार, असोज महिनामा मात्रै भित्रियो ९३ अर्ब रुपैयाँ

0
Shares

चालु आर्थिक वर्षको तेस्रो महिना अर्थात असोज महिनामा ९३ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १२.६ प्रतिशतले बढेको हो ।

राष्ट्र बैंकका अनुसार चालु आवको तीन महिना अर्थात असोज मसान्तसम्ममा २ खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । दसैं तथा तिहार लगायतका चाडपर्वहरु परेकाले पनि यस अवधिमा रेमिट्यान्स आप्रवाहमा उच्च सुधार देखिएको हो ।

कोरोना भाइरसका कारण विश्वभरी रोजगार गुम्ने तथा आर्थिक गतिविधि ठप्प रहेको भएपनि नेपाल आउने रेमिट्यान्स झनै बढेको हो । वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको अवस्थामा समेत रेमिट्यान्समा उल्लख्य वृद्धि आएको छ । विदेशमा रहेका नेपालीले कोरोना भाइरसको माहामारीका समयमा आर्थिक कारणले स्वदेशमा रहेको परिवारले समस्या भोग्न नपरोस् भनेर धेरै रकम पठाउँदा रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको हो ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले वृद्धि भई २ खर्ब ५८ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.६ प्रतिशतले बृद्धि भई २ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ४.७ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.७ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७८.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.९ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १०.२ प्रतिशतले वृद्धि भई २ खर्ब ८६ अर्ब ९१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.८ प्रतिशतले घटेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।