शेयर बजारमा कायम नयाँ कीर्तिमानमा अनलाइनको योगदान, अनलाइन मार्फत ८७ प्रतिशत कारोबार

0
Shares

नेपाल स्टक एक्सचेञ्जले शेयर बजारमा निरन्तर कारोबारमा सुधार आउनुमा नेप्से अनलाइन ट्रेड्रिङ सिस्टम (NOTS) को योगदान रहेको बताएको छ ।

नेप्से परिसूचक तथा कारोबार रकममा हालसम्मकै उच्च रेकर्ड कायम हुनुमा नेप्सेले उपलब्ध गराएको आधुनिक प्रविधिमार्फत लगानीकर्ताले घरबाटै सुरक्षित तबरले शेयरको कारोबार गर्न पाएको तथा रकम भुक्तानी तथा शेयर हस्तान्तरणमा पनि सहजता आएकाले कारोबार रकममा निरन्तर सुधार आएको नेप्सेले बताएको छ।

नेप्सेका अनुसार हालसम्म अनलाइनमार्फत कारोबार गर्नका लागि १ लाख ८५ हजारभन्दा बढी लगानीकर्ताले युजरनेम र पासवर्ड लिएका छन्। बिहीबारको कारोबारमा २३ हजार ५० लगानीकर्ता सहभागी थिए । यस दिन भएको कारोबारमध्ये ८७.७५ प्रतिशत कारोबार अनलाइनमार्फत भएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

मंसिर ११ गते बिहीबार ७० हजार ३ कारोबारमा ७ अर्ब ६१ करोड ३० लाख ३० हजार रुपैयाँ बराबरका १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता शेयर किनबेच भएका छन्। यसैगरी समग्र सेयर बजार परिसूचक नेप्से यस दिन १८९३.२४ विन्दु कायम भएको छ ।

कारोबार रकम तथा बजार परिसूचकका आधारमा धितोपत्रको दोस्रो बजारमा कायम भएको नयाँ कीर्तिमान हो । यस अघि २०७७ मंसिर ७ मा ६ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने २०७३ साउन १२ मा बजार परिसूचक नेप्से १८८१.४५ विन्दुमा पुगेको थियो ।

नेप्सेले २०७५ कात्तिक २० गतेबाट पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएको थियो । अनलाइन संचालनमा आएपछि दोस्रो बजारका प्रमुख सूचकहरुमा क्रमिक सुधार आएको र यस क्रममा दोस्रो बजार कारोबार सेवालाई सहज, सुरक्षित, विश्वसनीय तथा पारदर्शी बनाउने नेप्सेको उद्देश्य अनुरुप प्राविधिक, नीतिगत तथा संस्थागत पूर्वाधारहरुमा सुधार गरिएको पराजुलीले बताए।

पूँजी बजारको विकास तथा विस्तारका लागि नेप्सेले सञ्चालन गरेका गतिविधिमा नेपाल सरकार अर्थ मन्त्रालय तथा नेपाल धितोपत्र बोर्डको मागनिर्देशन तथा लगानीकर्ता, प्रणाली निर्माणकर्ता कम्पनी, सदस्य दलाल, मिडिया लगायत अन्य सरोकारवालाहरुको सहयोग रहदै आएको छ । आगामी दिनहरुमा पनि सम्पूर्ण सरोकारवालाहरु बाट यस्तै किसिमको सहयोग प्राप्त हुने अपेक्षा नेप्सेले गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।