महासंघमा महादंगलः तीनै स्थानको मतगणना प्रज्ञा भवन कमलादीमै हुने

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारणी समितिको निर्वाचन अन्तर्गत उद्योग वाणिज्य समूह (जिल्ला नगर), एशोसिएट सदस्य समूह र वस्तुगत संघ सबैको मतगणना एकै स्थान प्रज्ञा भवन कमलादीमा नै हुने भएको छ ।

निर्वाचन समितिका प्रवक्ता एवं निर्वाचन अधिकृत लिलामणि पौडेलले नोटबजारसँग कुराकानी गर्दै महासंघको नयाँ कार्यसमितिका लागि शनिबार भएको तीनै स्थानको मतगणना एकै स्थानमा हुने जानकारी दिए ।

उद्योग वाणिज्य समूह (जिल्ला नगर)को मतादान कमलादी, एशोसिएट सदस्य समूहको बबरमहल र वस्तुगत संघ समूहका मतदाताले महासंघको कार्यालय टेकुमा मतदान गरेका हुन् । ललितपुर उद्योग वाणिज्य संघका प्रतिनिधिले सबैभन्दा अन्तिम भोट हालेका थिए । महासंघको निर्वाचनमा जिल्ला नगरतर्फको भोटको वेटेज ५० प्रतिशत रहने गर्छ ।

जिल्ला नगरतर्फको शतप्रतिशत (१०५ मध्ये १०५ मत) मतदान सम्पन्न भैसकेको छ । कमलादी स्थित प्रज्ञा भवनमा जारी मतदानमा दिँउसो २ बजेसम्म जिल्ला नगरका सबै प्रतिनिधिले भोट हालेको हाम्रा संवादताले जनाएका छन् । जिल्ला नगरतर्फको निर्वाचनमा चन्द्र ढकाललाई भन्दा किशोर प्रधानलाई बढी भोट गएको आंकलन गरिएको छ ।

महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले केही बेरमा नै जिल्ला नगरतर्फको मतगणना सुरु हुने बताए । एशोसिएट सदस्य तथा वस्तुगत संघतर्फको मतगणना पनि साँझ ६ बजेपछि सुरु हुने निर्वाचन समितिका प्रवक्ता पौडेलले जानकारी दिए ।

नोटबजारका संवाददाताका अनुसार वस्तुगत तर्फ ९० भोट र एशोसियटतर्फ ८६० भोट खसिसकेको छ।

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा अन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहान ८ बजेबाट सुरुभएको मतदान उपराह्न ४ बजेसम्म जारी रहने महासंघले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।