वाणिज्य बैंकहरुमा दुई सातामा २६ अर्ब निक्षेप थपिँदा १४ अर्ब कर्जा विस्तार

0
Shares

संचालनमा रहेका २७ वाणिज्य बैंकले मंसिर महिनाको पहिलो दुई सातामा २६ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

नेपाल बैंकर्स संघका अनुसार मंसिर १२ गतेसम्म वाणिज्य बैंकहरुले ३६ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यसअवधिमा बैंकहरुले ३० खर्ब ६६ अर्ब कर्जा विस्तार गरेका छन् ।

मंसिरको पहिलो साता बैंकहरुमा ७ अर्ब निक्षेप थपिएको दोस्रो साता १९ अर्बले निक्षेप बढेको छ । यस्तै मंसिर महिनाको पहिलो साता २ अर्बले कर्जा घटेकोमा दोस्रो सातामा बैंकहरुले १६ अर्ब कर्जा विस्तार गरेका छन् ।

तिहारपछिको डेढ महिनामा बैंकहरुमा ५९ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने यस अवधिमा ४४ अर्ब रुपैयाँले कर्जा विस्तार भएको छ । चाडपर्व सकिएपछि बैंकहरुमा विस्तारै कर्जाको माग आउन थालेको देखिन्छ ।

कोरोना भाइरसको प्रभाव कम हुँदै गएपछि बैंकहरुमा कर्जाको माग आउन थालेको हो । पछिल्लो समय अर्थतन्त्र चलायमान बन्दै गएको छ । जनजिवन तथा व्यापार व्यवसाय पहिलेकै अवस्थामा फर्कर्ने चरणमा रहेकाले आर्थिक गतिविधि समेत बढेपछि बैंकहरुले कर्जा विस्तार गर्न थालेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ मंसिर २०७७, मंगलबार  १४ : ०४ बजे