नेप्सेमा सूचीकृत वाणिज्य बैंकहरुमध्ये ५० प्रतिशतले घोषणा गरे लाभांश

0
Shares

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत २६ मध्ये पचास प्रतिशत (१३) वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । अझै १३ वाणिज्य बैंकको लाभांश घोषणा हुने बाँकी छ ।

हालसम्म माछापुच्छ्रे बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक, ग्लोबल आईएमई बैंक, स्ट्याण्डर्ड चार्टड बैंक नेपाल, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, सनराइज बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक गरी कुल १३ बैंकले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरिसकेका हुन् । अन्य १३ बैंकको घोषणा हुन बाँकी छ ।

लाभांश घोषणा गरेका १३ मध्ये ६ वाणिज्य बैंकको साधारण सभाका लागि बुकक्लोज सम्पन्न भैसकेको छ भने ७ वाणिज्य बैंकको लाभांश घोषणा भएपनि बुकक्लोज भैसकेको छैन । यसको अर्थ बुकक्लोज मितिभन्दा अघि बुकक्लोज हुन बाँकी ७ वाणिज्य बैंकको शेयर खरीद गर्ने लगानीकर्ताले अझै प्रस्तावित लाभांश पाउनेछन् ।

लाभांश घोषणा गरेर १३ बैंकमध्ये माछापुच्छ्रे बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंकको साधारण सभाका लागि बुकक्लोज सम्पन्न भैसकेको छ । यी बैंकको शेयर खरीद गर्ने लगानीकर्ताले भने गत आर्थिक वर्ष २०७६/७७ बाट प्रस्तावित लाभांश पाउँदैनन् ।

लाभांश घोषणा गरेर बुकक्लोज सम्पन्न भैसकेका ६ बैंकमध्ये बैंक अफ काठमाण्डू र सानिमा बैंकले भने साधारण सभा समेत सम्पन्न गरिसकेका छन् । यसैगरी एनआईसी एशिया बैंकले मंसिर २१ गते, सिटिजन्स  र कुमारी बैंकले मंसिर २९ गते तथा माछापुच्छ्रे बैंकले पुस २ गते साधारण सभा आह्वान गरेका छन् । माछापुच्छ्रे बैंकले यसअघि कार्तिक ६ गते साधारण सभा आह्वान गरेपनि कोभिड असरका कारण सभा स्थगित गरेकोमा पुन आह्वान गरेको हो । लाभांश घोषणा गरेका ७ बैंकले साधारण सभा र बुकक्लोज तोकेका छैनन् ।

  • यी हुन् लाभांश घोषणा हुन बाँकी १३ बैंक

सूचीकृत २६ मध्ये १३ बैंकको लाभांश घोषणा भएपनि अझै १३ बैंकको लाभांश घोषणा हुन बाँकी रहेको छ ।

लाभांश घोषणा गर्न बाँकी बैंकहरुमा एनएमबि बैंक, नबिल बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक नेपाल क्रेडिट एण्ड कमर्स बैंक, लक्ष्मी बैंक, मेगा बैंक नेपाल, सिभिल बैंक र सेञ्चुरी कमर्सियल बैंक रहेका छन् ।

लाभांश घोषणा गरेका १३ बैंकको लाभांशलाई आधार मान्दा औषत लाभांशदर १३.०६ प्रतिशत रहेको छ । जसमध्ये औषत बोनस दर ९.६२ प्रतिशत र औषत नगद लाभांशदर ३.४४ प्रतिशत रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।