केन्द्रिय निक्षेप प्रणाली सिडिएससीले मेरो शेयरको मोबाइल एपबाट पनि साधारण शेयरमा आवेदन गर्न सकिने फिचर थप गर्ने भएको छ ।
यस अघि आईपीओ आवेदन गर्न नमिल्ने गरि एप लञ्च गरिएको थियो ।
सिडिएससी प्रवक्ता सुरेश न्यौपानेका अनुसार प्रभु लाइफ इन्स्योरेन्सको साधारण शेयरमा नै लगानीकर्ताले मोबाइल एपबाट आवेदन गर्न मिल्ने गरि तयारी भईरहेको छ । प्रभु लाइफ इन्स्योरेन्सले मंसिर २९ गतेदेखि सर्वसाधारणमा शेयर निष्काशन गर्दैछ ।
‘अहिले हामी एपमा आईपीओ आवेदन गर्ने फिचरको परीक्षण गरिरहेका छौं । परीक्षण पुरा गरेर केही दिनमा नै एपमा यो फिचर थप गर्ने छौं’ न्यौपानेले नोटबजारसँग भने ।
अहिले सिडिएससीले बेटा भर्सनको मेरो शेयर एप गूगल प्लेमा मात्र लञ्च गरेको छ । एप लञ्च गरेको छोटो समयमा नै १ लाखभन्दा बढी डाउनलोड भइसकेको छ । अब आईपीओ पनि एपबाट नै भर्न पाउने भए पछि यो एपको डाउनलोड संख्या तिब्र दरमा बढ्ने अनुमान गर्न सकिन्छ ।
मंगलबार सम्ममा केन्द्रिय निक्षेप प्रणालीका सदस्यहरुकोमा डिम्याट खाता खोल्नेहरुको संख्या २२ लाख १५ हजार ७११ पुगेको छ । जसमा ५० प्रतिशतभन्दा धेरैले मेरो शेयर सुविधा लिएका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया