आउने भयो हालसम्मकै ठूलो आईपीओ, इन्फ्रास्ट्रक्चर बैंकले माग्यो अनुमति

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले हालसम्मकै ठूलो साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । बैंकले आईपीओ अनुमति माग्दै मंसिर ८ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । 

जारी पूँजी २० अर्ब रहेको बैंकले जारी पूँजीको ३० प्रतिशत अर्थात प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गर्न अनुमति मागेको छ ।

यो नै हालसम्मकै ठूलो सार्वजनिक निष्काशन हो । यसअघि एचआईडीसिएलले सर्वसाधारणमा २ अर्ब रुपैयाँ बराबरको करोड कित्ता शेयर जारी गरेको थियो ।

बैंकको यहि मंसिर ३ गते सम्पन्न साधारण सभाले आईपीओ निष्काशन गर्नेे प्रस्ताव पारित गरेको थियो । बैंकको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड छ । यस्तै नागरिक लगानी कोषले आईपीओ प्रत्याभूती (अण्डरराइट) गरेको छ ।

पूर्वाधार क्षेत्र (जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य ) हरुमा लगानी गर्ने मूल उद्देश्य लिई स्थापित बैंकले नेपाल राष्ट्र बैंकबाट २०७५ माघ २८ गते राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृति पाएको थियो। सो लगत्तै २०७५ फागुन २२ गतेदेखि नै आफ्नो औपचारिक बैंकिङ्ग कारोबार सुरु गरेको थियो । 

बैंकको अधिकृत पूँजी ४० अर्ब र संस्थापकहरुबाट चुक्ता पूँजी १२ अर्ब छ । सर्वसाधारणहरुलाई शेयर निष्काशनपछि बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ । नेपाल सरकारको समेत लगानी रहेको बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।