साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ३५ प्रतिशत बोनस स्वीकृत, चिनीको कारोबारमा बढ्यो आर्थिक भार

0
Shares

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ५३ औं वार्षिक साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको ३५ प्रतिशत लाभांश वितरणको प्रस्ताव स्वीकृत गरेको छ ।

कर्पोरेशनले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वापत एक करोड ५३ लाख ५७ हजार ५८ र ३ करोड ८३ लाख ९३ हजार ९५० रुपैयाँ बराबरको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । व्यापार विविधिकरणको नीति अनुरुप कर्पोरेशनको चुक्ता पूँजीको आवश्यकतालाई दृष्टिगत गरी बोनस वितरणलाई जोड दिएको जनाएको छ ।

साथै साधारण सभाले २०७६ साल आषाढ मसान्तसम्मको कर्पोरेशनको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा कर्पोरेशनले गरेको विभिन्न कृयाकलापहरुको बारेमा छलफल एवं समिक्ष्ाँ गरि आगामी दिनहरुमा अझ बढी प्रभावकारी ढंगले अगाडी बढन मार्गदर्शनका साथ वार्षिक प्रतिवेदनलाई अनुमोदन गरेको छ ।

कर्पोरेशनले आम उपभोक्तालाई खाद्यवस्तु, रासायनिक मल तथा अन्य वस्तुहरुको सरल र सहज आपूर्ति गर्दै आएको छ । कम्पनीले गत आर्थिक वर्षमा ८ अर्ब २५ करोडको कारोबार गरेको थियो । उक्त कारोबारबाट कर्पोरेशनले आ.व. २०७५/०७६ मा ७३ करोड १४ लाख नाफा कमाएको थियो।

विगत वर्षमा कर्पोरेशने आयात गरेको चिनी मध्ये २५०० मे.टन चिनी भंसार विन्दुमा आइपुग्ने समयमा नेपाल सरकारबाट विदेशी चिनीको आयातमा प्रतिबन्ध लगाउने निर्णयले उक्त चिनी धेरै महिनासम्म भंसार विन्दुमा रोकिएको कारण कर्पोरेशनको चिनीको कारोबारमा कमि एवं भंसारमा रोकिएको कारण डेमरेज चार्ज वापत तिर्नु परेको रकमको कारण आर्थिक भार पर्न गएको जनाएको छ ।

लकडाउनमा समेत कर्पोरेशनले अत्यावश्यक वस्तुको आपूर्ति सहज रुपमा होस भन्ने हेतुले आफना बिक्री कक्षहरु मार्फत र डेलिभरि भ्यान मार्फत टोल टोलमा एस टी सि को नारा सहित आमउपभोक्ताको घरदैलो सम्म सेवा पुयाउदै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।