कात्तिकमा बैंकहरुको नाफा २ अर्बले घट्यो, कसको कति ?

0
Shares

चालु आर्थिक वर्षको कात्तिक महिनामा बैंकहरुको नाफा गत आवको यसै अवधिको तुलनामा २ अर्ब रुपैयाँले घटेको छ । चालु आवको सो अवधिमा बैंकहरुले कुल १८ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुको कात्तिकसम्मको नाफा गत आवको सोही अवधिको तुलनामा ९ प्रतिशतले थोरै हो । गत आवको कात्तिसम्ममा बैंकहरुले २० अर्ब ७५ करोड ८५ लाख रुपैयाँ खुद नाफा गरेका थियो ।

चालु आर्थिक वर्षको असोजको तुलनामा भने कात्तिकमा बैंकहरुले ४ अर्ब रुपैयाँले नाफा बढाएका छन् । चालु आर्थिक वर्षको असोजसम्ममा बैंकहरुले १४ अर्ब ६० करोड ४० लाख रुपैयाँ खुद नाफा गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले लगाएको लकडाउन तथा निषेधाज्ञाका कारण आर्थिक गतिविधि खुम्चन पुग्यो । तरपनि निषेधाज्ञाका कारण बैंकहरुको आम्दानीमा कम असर पुगेको देखिन्छ । यो अवधिमा बैंकहरुको कर्जा प्रवाह करिब ठप्प जस्तै रहेपनि एक महिनाको अन्तरालमा नाफा भने बढेको छ ।

बैंकहरुले कोरोना प्रभावित ऋणीलाई ब्याजमा छुट तथा कर्जाको समयाअवधि बढाइदिएको हुनाले कर्जा असुलीमा कमी आएको छ । गत आर्थिक वर्षमा उठ्नुपर्ने कर्जा चुक्ताको अवधि नेपाल राष्ट्र बैंकले थप गरिरहेको अवस्था छ । पछिल्लो समयमा बैंकिङ्ग प्रणालीमा अधिक तरलताका कारण ब्याजदर समेत घट्दो क्रममा रहेको छ । कोरोनाका कारण आर्थिक गतिविधि पुर्ववत रुपमा नफर्किसकेको हुनाले बैंकहरुले अझै पनि कर्जा लगानी बढाउन सकेका छैनन्।

कात्तिकसम्ममा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै नाफा गरेको छ । बैंकले चालु आर्थिक वर्षको कात्तिकसम्ममा १ अर्ब ४५ करोड ३७ लाख रुपैयाँ खुद नाफा गरेको छ । जनता बैंक गाभेको यो बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै ४५ करोडले धेरै हो ।

कार्तिक मसान्तसम्मा नबिल बैंकले १ अर्ब ३६ करोड, एनआईसी एशिया बैंकले १ अर्ब २८ करोड, प्राइम बैंकले १ अर्ब २३ करोड, प्रभु बैंक १ अर्ब १३ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ९ करोड र एनएमबि बैंकले १ अर्ब ३ करोड नाफा आर्जन गरेको छ । ७ बैंकले १ अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् भने १० बैंकको नाफा ५० करोडभन्दा कम छ ।

गत आवको सो अवधिमा बैंकमा जनता बैंक गाभिएको थिएन । ग्लोबलले जनतालाई खरीद गरेर गत वर्षको मंसिर २० गतेदेखि संयुक्त कारोबार थालेको थियो । त्यसैगरी भदौसम्ममा सबैभन्दा थोरै नाफा गर्नेमा सिभिल बैंक रहेको छ । बैंकले यस अवधिसम्ममा १३ करोड ३ लाख रुपैयाँ मात्र खुद नाफा गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।