आगामी साताबाट ब्रोकर कमिशन घट्ने, स्टक डिलरको लाइसेन्स पनि दिइने

0
Shares

नेपाल धितोपत्र बोर्डले आगामी साताबाट शेयर कारोबारमा लाग्ने ब्रोकर कमिशन घटाउने भएको छ।

बिहीबार नेपाल आर्थिक पत्रकार संघ नाफिजका नव नियुक्त पदाधिकारीहरुको स्वागतमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले अंग्रेजी नयाँ वर्ष २०२१ को सुरुवातबाटै ब्रोकर कमिशन घटाउने तयारी भएको जानकारी दिए ।

‘ब्रोकर कमिसनका सन्दर्भमा हामीले छलफल जारी छ । कमिशन घटाउँदा स्लाब पनि पुनर्विचार गर्नु पर्ला । मोडालिटिमा हामी करिब करिब अन्तिम चरणामा छौ तर काम अझै बाँकी छ । प्राविधिक रुपमा पनि थुप्रै काम गर्न बाँकी छ। सम्भवत अंग्रेजी नयाँ वर्षदेखि हामी यो लागू गर्न सक्छौं ।’ उनले भने ।

शेयर लगानीकर्ताले बारम्बार कमिशन घटाउने माग गरिरहेका बेला बोर्डको आग्रहमा शेयर ब्रोकरहरुले कमिशन घटाउन उपयुक्त छ छैन भन्ने बारेमा अध्ययन रिर्पोट समेत बुझाएका थिए । साथै सोहि कार्यक्रममा बोर्ड अध्यक्ष ढुंगानाले नागरिक स्टक  डिलरलाई अनुमतिपत्र प्रदान गरी बजार प्रवेश ढोका खोल्ने तयारी भइरहेको जानकारी दिए । नागरिक स्टक डिलरको चुक्ता पूँजी पाँच अर्ब रुपैयाँ रहेको छ ।

साथै शेयर कारोबारलाई थप प्रविधिमैत्री बनाउन बैक इन्ट्रीगेसन, ब्रोकर टीएमएसमा सुधार, इलेक्ट्रोनिक रिपोर्टिङ लागि डिजिटल काम अघि बढाइरहेको पनि उनको भनाई छ । त्यस्तै इ केवाईसी भर्ने व्यवस्था मिलाउन सीडीएसीले कार्यविधि बनाउने कार्य अघि बढाइरहेको पनि उनले जानकारी दिए ।

  • कति छ अहिले ब्रोकर कमिसन ?

हाल ब्रोकर कमिसनको रुपमा न्यूनतम ०.४० प्रतिशतदेखि ०.६० प्रतिशतसम्म शेयर खरिदबिक्रीबापत लगानीकर्ताहरुले तिर्दै आइरहेका छन् ।

शेयर कारोबार गर्दा हाल ५० हजारसम्म ०.६० प्रतिशत, ५० हजारभन्दा माथि ५ लाखसम्म ०.५५ प्रतिशत र ५ लाखदेखि २० लाखसम्म कारोबारमा ०.५० प्रतिशतसम्म लगानीकर्ताले कमिसन तिर्नुपर्दछ ।

यसैगरी, २० लाखदेखि १ करोडसम्म ०।४५ प्रतिशत र १ करोडभन्दा माथिको कारोबार गर्दा ०.४० प्रतिशत लगानीकर्ताहरुले ब्रोकरहरुलाई कमिसन तिर्दै आएका छन् । यो ब्रोकर कमिसनमध्ये नेप्सेले २० प्रतिशत र नेपाल धितोपत्र बोर्डले ०.६० प्रतिशत लैजान्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ पुस २०७७, बिहीबार  १५ : ३७ बजे