बीस करोड राजश्व छल्ने आधा दर्जन फर्म विरुद्ध मुद्दा दायर

0
Shares

राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली बिल विजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा आधा दर्जन फर्म विरुद्ध झण्डै २० करोड भष्ट्राचारको मुद्दा दायर गरेको छ।

विभागले झण्डै आधा दर्जन फर्महरुका प्रोप्राईटर तथा मुख्य अभियुक्तहरुबाट १९ करोड ९६ लाख असुल उपर गरी जरिवाना र कैद सजाय समेत हुन मागदावी लिई तीन वटा मुद्दा दर्ता गराएको हो।

विभागले झुट्टा तथा नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने कविला सप्लायर्स सेन्टरका प्रोप्राईटर नवल किशोर चौधरी विरुद्ध २ करोड १४ लाख ३० हजार, शिवम प्याकेजिङ एण्ड सप्लायर्सका प्रोप्राईटर सितादेवी जयसवालबाट ५ करोड ८८ लाख ६५ हजार र गौतम सप्लायर्सका प्रोप्राईटर मुकेशप्रसाद चौधरीबाट ५ करोड ३२ लाख १६ हजार गरी जम्मा १३ करोड ४५ लाख १२ हजार विगो असुल गरी जरिवाना र कैद मागदावी लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको हो।

त्यस्तै राजस्व छली गर्ने शिवम ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राईटर जगदिश सहनी मलाह समेत ७ वजना विरुद्ध ४ करोड ५९ लाख ६९ हजार विगो असुल गरी जरिवाना र कैद मागदावी लिई पुस १ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ।

यसैगरी राजस्व चुहावट गर्ने नियतले गलत विवरण घोषणा गरी राजस्व छली गर्ने कास्की स्थित अनुस्का मल्टिप्रपोज कम्पनीका प्रोप्राईटर शिवलाल तिम्लसिना समेत ३ जना विरुद्ध १ करोड ८२ लाख ५३ हजार विगो असुल गरी जरिवाना र कैद मागदावी लिई उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगंजमा मुद्दा दर्ता गरिएको आयोगले जानकारी दिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ९ पुस २०७७, बिहीबार  १८ : १० बजे