नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को औसत दैनिक कारोबार ६ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । यो औसत दैनिक कारोबार गत साताको तुलनामा १५.३९ प्रतिशतले धेरै हो ।
गत साता नेप्सेको औसत दैनिक कारोबार रकम ६ अर्ब १ करोड रुपैयाँ रहेकोमा यो साता बढेर ६ अर्ब ९४ करोड पुगेको हो । यो सातामा नेप्से परिसूचक अस्थिर रहेपनि कारोबार रकममा भने सुधार आएको छ ।
अघिल्लो साता नेप्से सूचक घट्दो क्रममा थियो । यो अवधिमा नेप्सेको औसत दैनिक कारोबार रकम ५ अर्ब ६९ करोड रुपैयाँमा झरेको नेप्सेले जनाएको छ । गत साता केही सुधारको गतिमा देखिएको नेप्से सूचक यो साता भने पुन घट्दो क्रममा नै रह्यो ।
पछिल्लो तीन सातामा शेयर बजार सूचक १९६४ देखि २०६८ अंकसम्म तलमाथि गरेको छ । यो अवधिमा नेपाल राष्ट्र बैंकको शेयरधितो कर्जामा भएको नीतिगत परिवर्तन तथा राजनीतिक वृत्तमा देखिएको अस्थिरता बजारमा नकारात्मक प्रभाव परेको हो ।
यो साताभर नेप्से परिसूचक ६.११ अंकले बढेको छ । यो साताको पहिलो दिन आइतबार कारोबार खुल्दा २०३२.५२ अंकमा रहेको नेप्से साताभर ६.११ ले बढेर २०३८.६३ अंकमा पुगेर बन्द भएको छ । नेप्से परिसूचकमा ४७ प्रतिशत हिस्सा रहेको सेन्सेटिभ इण्डेक्स पनि यो साताभरमा ०.८३ अंकले बढेको छ । यो साता नेप्सेमा कारोबार भएका अधिकांश वाणिज्य बैंकको शेयरमूल्य बढेपछि समग्र बजार सूचकमा सुधार आएको हो ।
यो साता नेप्सेमा ५ दिन कारोबार भएको छ । सो अवधिमा २१५ कम्पनीको २ लाख ९९ हजार ९०४ कारोबारबाट ३४ अर्ब ७१ करोड ९० लाख रुपैयाँ बराबरको ६ करोड १० लाख ८ हजार कित्ता शेयर खरीद बिक्री भएको छ । यो कारोबार रकम गत साताको तुलनामा १५ प्रतिशतले धेरै हो । यो साताको कुल कारोबार रकममा सबैभन्दा धेरै वाणिज्य बैंकको ३४.५९ प्रतिशत हिस्सा छ ।
कारोबार रकममा यो साता नेप्सेमा कारोबार भएका समूहगत परिसूचक मध्ये बैंकिङ्ग ५४.१५, होटल २०.०७, उतपादन मूलक ४७.०१ र जीवन बीमा समूह ४४.०८ अंकले बढेिका छन् । तर, अन्य ९४.९५, जलविद्युत ४३.८५, विकास बैंक ३५.२०, लघुवित्त १३२.०८, निर्जीवन बीमा १२२.५१, वित्त ५.९६ र ब्यापार ४०.११ अंकले घटेका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया