बुधबार एक दर्जन धेरै कम्पनीको बुकक्लोज हुँदै, ११ को लाभांश पाउन आजसम्म शेयरधनी बन्नुपर्ने

0
Shares

भोलि पुस १५ गते बुधबार एकैदिन १४ कम्पनीले साधारण सभाका लागि शेयरधनी दर्ता खारेजी (बुकक्लोज) गर्ने भएका छन् । पुस मसान्तमा सबै सूचीकृत कम्पनीहरुले साधारण सभा आह्वान गरेर लाभांश तथा साधारण सभाका लागि बुकक्लोज गर्दा एकैदिन एक दर्जनभन्दा धेरै कम्पनीको बुकक्लोज पर्न गएको हो ।

बुधबार बुकक्लोज गर्ने १४ कम्पनीमध्ये ११ कम्पनीको लाभांश पाउन आज अर्थात मंगलबारसम्म शेयर कारोबार भई सम्बन्धीत शेयर रजिष्ट्रारको शेयरधनी दर्ता किताबमा शेयरधनी बनिसक्नुपर्छ । बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम रहेका लगानीकर्ता मात्र साधारण सभामा प्रतिनिधित्व गर्न र लाभांश पाउन योग्य हुने गर्दछन् ।

चालु आर्थिक वर्षको पुस मसान्त नजिकिँदै गर्दा सूचीकृत कम्पनीको साधारण सभा र बुकक्लोज बढ्दै गएको छ । अधिकांश सूचीकृत कम्पनीको साधारण सभा पुस मसान्त वा त्यसको वरीपरी नै छन् ।

सूचीकृत कम्पनीहरुलाई पुस मसान्तभित्रै साधारण सभा सम्पन्न गरेर कम्पनी रजिष्ट्रारको कारवाहीबाट बच्न तथा नेप्सेको कम्पनी वर्गिकरणको सूचीमा आफुलाई अब्बल ठहर्याउन पनि हरेक सूचीकृत कम्पनीलाई पुस मसान्तभित्र साधारण सभा सकाउने चटारो रहन्छ ।

त्यसैले त पछिल्ला दिनमा एकैदिन साधारण सभामा प्रतिनिधित्व तथा गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश पाउने र नपाउने लगानीकर्तालाई छुट्टाउनका लागि सूचीकृत कम्पनीहरुको शेयर दाखिला खारेजी (बुकक्लोज) को मिति पनि बाक्लिँदो छ ।

बुधबार बुकक्लोज गर्ने १४ कम्पनीहरुले आह्वान गरेको साधारण सभाका लागि मंगलबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहन आउने लगानीकर्ता मात्र लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व गर्न योग्य हुने गर्दछन् ।

  • तीन कम्पनीका लगानीकर्तालाई छैन लाभांश

बुकक्लोज गर्नेमध्ये ११ कम्पनीको मंगलबारसम्म शेयर खरीद गर्ने लगानीकर्ताले लाभांश पाउनेछन् । गत आवबाट सोल्टी होटल, गुराँस लघुवित्त वित्तीय संस्था र नेप्सेमा सूचीकृत भएपनि कारोबार सुरु नहुँदै मर्जरमा गएको समाज लघुवित्त (जुन स्वतिक लघुवित्तसँग मर्जर प्रकृयामा छ) ले पनि शेयरधनीलाई गत आवको नाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने जनाएका छन् ।

  • कुन-कुन कम्पनीको शेयर खरीद गर्दा पाइन्छ लाभांश ?

भोलि बुकक्लोज गर्न लागेका ११ कम्पनीहरुको आजसम्म शेयर खरी दगर्ने लगानीकर्ताले लाभांश पाउनेछन् । शेयर खरीद गर्दा लाभांश पाइने कम्पनी र लाभांश यसप्रकार रहेका छन् ।

१. नबिल बैंकः चुक्ता पूँजीको ३३.५ प्रतिशत (१०० कित्ता बराबर ३३।५ कित्ता) बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश ।

२. ग्लोबल आईएमई बैंकः चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १६ प्रतिशत नगद लभांश ।

३. नेपाल एसबिआई बैंकः चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ३.४७ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ९.४७ प्रतिशत नगद लाभांश

४. कृषि विकास बैंकः चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७८९५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १५.७८९५ प्रतिशत लाभांश तथा नेपाल सरकारको शेयर पावत ६ प्रतिशतका दरले नगद लाभांश ।

५. छिमेक लघुवित्तः चुक्ता पुँजीको २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २९ प्रतिशत लाभांश ।

६.वोमी लघुवित्तः चुक्ता पुँजीको ३० प्रतिशतका दरले बोनस शेयर ।

७. ग्लोबल आईएमई लघुवित्तः चुक्ता पूँजीको २७.४७ प्रतिशत बोनस शेयर र १.४५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २८.९२ प्रतिशत लाभांश ।

८. मञ्जुश्री फाइनान्सः चुक्ता पुँजीको १८ प्रतिशत बोनस शेयर र ५.५ प्रतिशत नगद (कर प्रयोजन सहित) गरि कुल २३।५० प्रतिशत लाभांश ।

९.स्पर्स लघुवित्तः चुक्ता पुँजीको १९.५० प्रतिशत बोनस शेयर र १.०३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २०.५३ प्रतिशत लाभांश ।

१०.ङादी ग्रुप पावरः चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश ।

११.श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीः चुक्ता पुँजीको ७.३७ बोनस शेयर र ३.१६ प्रतिशत नगद (कर प्रयोजन सहित) गरी कुल १०.५३ प्रतिशत नगद लाभांश ।

  • कसको साधारण सभा कहाँ र कहिले ?

१. नबिल बैंकः सभामा बैंकको पुस ६ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६।७७ को ३६ औं वार्षिक साधारण सभा पुस २९ गते बैंकको केन्द्रीय कार्यालय, दरबारमार्ग, काठमाडौँमा बिहान १० बजे आह्वान गरिएकोे छ ।

२. ग्लोबल आईएमई बैंकः बैंकको कार्तिक ६ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १४ औं वार्षिक साधारण सभा पुस २९ गते, बुधबार, बैंकको रजिष्टर्ड कार्यालय, कमलादी, काठमाडौँमा बिहान १० बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

३. नेपाल एसबिआई बैंकः बैंकको २७ औं वार्षिक साधारण सभा पुस २८ गते, मंगलबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ ।

४. कृषि विकास बैंकः बैंकको चौधौं वार्षिक साधारणसभा पुस २९ गते बुधबार बिहान ११ बजे बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ ।

५. छिमेक लघुवित्तः लघुवित्त संस्थाको १९ औं वार्षिक साधारण सभा पुस २९ गते, बुधबार, बिहान ११ बजे मकवानपुर हेटौंडामा रहेको सामना होटलबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ ।

६. वोमी लघुवित्तः लघुवित्त संस्थाको नवौं वार्षिक साधारण सभा पुस २८ गते मंगलबार बनेपा नगरपालिका १३ साँगा, काभ्रेपलाञ्चोकस्थित लहरी खर्क पार्टी प्यालेसको सभाहलमा बिहान ११ बजे सुरु हुनेछ ।

७. ग्लोबल आईएमई लघुवित्तः लघुवित्त संस्थाको ८ औं वार्षिक साधारण सभा पुस २९ गते, बुधबार, गेट वे हिमालय रिसोर्ट, बेसिशहर ९, लमजुङमा बिहान ९ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

८. मञ्जुश्री फाइनान्सः फाइनान्सको तेह्र्रौँ वार्षिक साधारण सभा पौष २९ गते, बुधबार, कम्पनीको रजिष्टर्ड कार्यालय, नयाँ बानेश्वर, काठमाडौँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

९.स्पर्स लघुवित्तः संस्थाको चौंथो वार्षिक साधारण सभा पुस २९ गते, बुधबार, होटल बाराही पोखरामा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ ।

१०.ङादी ग्रुप पावरः कम्पनीको सातौँ वार्षिक साधारण सभा पुस २८ गते मंगलबार बिहान १० बजे कम्पनीको रजिष्टार्ड कार्यालय हनुमानस्थान अनामनगरमा बिहान १० बजेबाट सुरु हुनेछ ।

११. श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीः फाइनान्सको २६ औं वार्षिक साधारण सभा पौष २९ गते, बुधबार, कम्पनीको रजिष्टार्ड कार्यालय डिल्लीबजार, काठमाडौँमा बिहान १० बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ ।

उता भोलि पुस १५ गते बुधबार हुलास स्टीलले पनि ३९ औं वार्षिक साधारण सभा सम्पन्न गर्ने भएको छ । कम्पनीले गोल्छा हाउसमा दिउँसो साढे २ बजे भर्चुअल माध्यमबाट साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिमको लाभांश स्वीकृत गर्ने लगायतका अन्य प्रस्तावहरु उपर छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


प्रकाशित मिति: १४ पुस २०७७, मंगलबार  ०८ : ५८ बजे