‘अधिक तरलताले ब्याजदर स्थायित्व तथा कर्जाको गुणस्तरमा चुनौती’ -भुवन कुमार दाहाल, अध्यक्ष बैकर्स संघ

0
Shares

नेपाल बैकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले हाल बजारमा कायम अधिक तरलताले ब्याजदर स्थायित्व तथा कर्जाको गुणस्तरमा चुनौती थपेको बताएका छन् ।

नेपाल बैकर्स संघको साधारण सभामा अध्यक्ष दाहालले अधिक तरलताले ब्याजदर स्थायित्व तथा कर्जाको गुणस्तरमा चुनौतीलाई संवोधन गर्न बैंकहरु प्रयन्तसिल रहेको समेत बताए नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयबाट पनि प्रयास भइरहेको छ । यस सम्बन्धमा नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयबाट थप सहयोगको अपेक्षा गरेका छौं । उनले भने ।

कोभिड–१९ को नकारात्मक प्रभावले गर्दा हामी सबै असहज स्थितिबाट गुज्रिरहेका छौं । अर्थतन्त्र सामान्य अवस्थामा आउन थप केही समय लाग्ने भएता पनि केही क्षेत्र बाहेक अधिकांश क्षेत्रहरु हाल संचालनमा आएकाले आशाको संचार जगाएको उनको भनाई छ । 

व्यवसाय पुनरुत्थानको लागि आवश्यक रकमको सहज उपलब्धता, कर्जाको कम ब्याजदर, कर्जाको पूनरतालिकीकरण र पूनरसंरचनाको व्यवस्था आदिका कारण पनि हाम्रो अर्थतन्त्र चाँडै पुनरुत्थान हुने आशा व्यक्त गरे ।

उनले भने, गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा झन्दै २०% बढि कर्जा प्रवाह हुनुले पनि यसको संकेत गर्दछ । यो सकारात्मक परिस्थिति निर्माणका लागि नेपाल सरकार तथा नेपाल राष्ट्र बैंक प्रति हामी सबै अनुगृहित हुनु पर्दछ । आफू बबचौं र अरुलाई पनि बचाउँ भन्ने मूल मन्त्रका साथ बैंकर तथा अन्य व्यवसायीहरु अहिले अघि बढ्नु पर्ने अवस्था छ । कोभिड–१९ का कारणले अति प्रभावित व्यवसाय तथा व्यक्तिहरुलाई कोभिड–१९का बावजुद पनि राम्रो गरेका व्यवसाय तथा व्यक्तिहरुले योगदान गर्न सक्छन् । यसका लागि नेपाल सरकारले करको दरमा आवश्यक परिमार्जन गर्नुपर्ने उनको भनाई छ ।

‘पुस मसान्तमा बैंकहरुको पुनरसंरचना तथा पुनरतालिकिकरण गरेको कर्जा लगायत निष्किृय कर्जाको यथार्थ तस्वीर आउने नै छ । बैंकहरुको वित्तीय अवस्थामा दबाबका बावजुद बैंकहरुको पूँजी कोषको अवस्था न्यूनतम ८.५% भन्दा धेरै माथि रहेकाले निक्षेपकर्ताहरुले असुरक्षित ठान्नु पर्ने अवस्था छैन । हाल निक्षेप तथा कर्जाको बृद्घि दर सन्तोषजनक रहेको छ ।’ उनले भने ।

‘वाणिज्य बैंकहरु गाँउ गाँउमा आधुनिक बैंकिङ्ग सुविधा प्रदान गरिरहेका छन् । नेपालमा मोबाइल/इन्टरनेट तथा अन्य प्रविधिको प्रभावकारी विस्तारले गर्दा बैंकहरुलाई ब्रिक बैंकिङ्गबाट क्लिक बैंकिङ्गमा फड्को मार्न सहज हुने देखिन्छ । बैंकहरु यस दिशा तर्फ लागि पनि रहेका छन् । जति चाँडो हामी डिजिटल च्यानलको विस्तार गर्न सक्छौं, त्यति नै चाँडो सबै खाले ग्राहक वर्गमा सहजता आइ हाम्रो अर्थतन्त्रको विस्तारमा पनि सहयोग पुग्दछ । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको डिजिटल नेपाल बनाउने भिजन अनुरुप हामी राष्ट्र बैंकको मार्गदर्शन अनुसार यस कामलाई अगाडि बढाउने छौं ।’उनले भने । 

बैकिङ्ग कसुर तथा सजाय ऐन अन्तरगत घट्नाको अनुसन्धान तथा अभियोजन गर्ने हालको प्रणालीमा असल नियतले आफ्नो काम गरी समाजमा राम्रा र इमान्दार बैंकरको छबी आर्जन गरेका बैंकरहरुले पनि दुःख पाउने अवस्था आउँदा बैंकिङ्ग क्षेत्रमा निराशाको अवस्था थियो। यस वर्षको मौद्रिक नीति मार्फत् सो ऐनमा आवश्यक संशोधनको प्रस्ताव गर्ने भनी उल्लेख भएकाले इमान्दार बैंकरहरुमा निर्धक्क काम गर्ने आशा पलाएको उल्लेख गर्दै संशोधनको प्रक्रिया चाँडै अगाडी बढाईदिन आग्रह गरे ।

नेपाल राष्ट्र बैंकको अभिभावकत्व तथा मार्गदर्शनमा बैंकिङ्ग क्षेत्रलाई थप पारदर्शी, व्यवसायिक तथा आधुनिक बनाउन बैंकहरु प्रतिवद्ध रहेको उनको भनाई थियो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।