एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको चार कम्पनीको ६ लाख कित्ता शेयर बिक्रीमा

0
Shares

एनआईसी एशिया बैंक (NICA) ले आफ्नो स्वामित्वमा रहेको चार कम्पनीको ६ लाख २७ हजार २०० कित्ता संस्थापक शेयरको लिलामी खोलेको छ । कम्पनीले यसअघि बिक्रीमा ल्याइसकेको सबै शेयर बिक्री नभएपछि पुनः लिलामीमा बिक्रीमा ल्याएको हो ।

बैंकले नागरिक लगानी कोषको २ लाख ०२ हजार ५६० कित्ता, नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको १ लाख ०३ हजार ९७६ कित्ता, एशियन लाईफ इन्स्योरेन्सको कम्पनीको १ लाख ३० हजार २९० कित्ता र सूर्या लाईफ इन्स्योरेन्सको १ लाख ५० हजार ९७४ कित्ता संस्थापक शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले पुस १९ गते आइतबारबाट पुस पुस २४ गते शुक्रबारसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

बैंकले नागरिक लगानी कोषको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ७१५ रुपैयाँ, नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ५५० रुपैयाँ, एशियन लाईफ इन्स्योरेन्सको कम्पनीको ४६९ रुपैयाँ र सूर्या लाईफ इन्स्योरेन्सको ३३७ रुपैयाँ तोकेको छ । यसअनुसार सो वा सोभन्दा बढी मूल्यमा शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

एनआईसी क्यापिटल बबरमहल काठमाण्डौं, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय ट्रेड टावर थापाथली, विराटनगर ३ मोरङ्ग, आदर्शनगर वीरगंज पर्सा , महेन्द्र पुल पोखरा, श्रवनपथ वुटवल, हस्पिटल लाइन धनगढी, र विरेन्द्रचोक सुर्खेतबाट बोलपत्र आवेदन फारम प्राप्त गर्न र आवेदन दिन सक्नेछन् ।

यस बोलकबोल प्रकृया मार्फत नागरिक लगानीकोषको शेयर खरिदका लागि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी बाहेकका अन्य कम्पनी तथा व्यक्तीहरु सहभागी हुन नसक्ने बैकले जनाएको छ । इन्स्योरेन्स कम्पनीहरुको शेयर खरीदका लागि इच्छुक योग्य नेपाली नागरिकहरुले आवेदन दिन सक्ने बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

  • दुईको लिलामीको न्यूनतम मूल्य बढ्यो दुईको घट्यो

एनआईसी एशिया बैंकले हाल लिलामीमा ल्याएको चार कम्पनीमध्ये अघिल्लो पटक लिलामी ल्याएको न्यूनतम मूल्यभन्दा २ कम्पनीको मूल्य घटाएको छ भने दुईको बढाएको छ । नागरिक लगानी कोष र सूर्या लाइफको न्यूनतम बोलकबोल मूल्य घटाएको बैंकले नेशनल लाइफ र एशियन लाइफ इन्स्योरेन्सको भने वृद्धि गरेको हो ।

बैंकले नागरिक लगानी कोषको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ७१५ रुपैयाँ, नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ५५० रुपैयाँ, एशियन लाईफ इन्स्योरेन्सको कम्पनीको ४६९ रुपैयाँ र सूर्या लाईफ इन्स्योरेन्सको ३३७ रुपैयाँमा लिलामीमा ल्याएको छ ।

यसअघि बैंकले लिलामीमा ल्याएको तुलनामा बैंकले बोलपत्र आवेदन गर्दा नागरिक लगानी कोषको १ हजार २५ रुपैयाँ र सूर्या लाइफ ३८ रुपैयाँ कम मूल्यमा तथा नेशनल लाइफ ३० र एशियन लाईफ इन्स्योरेन्सको ५ रुपैयाँ बढी न्यूनतम मूल्य तोकेको हो ।

अघिल्लो पटक बैंकले नागरिक लगानी कोषको शेयर २ हजार ७४० रुपैयाँ, नेशनल लाइफको ५२० रुपैयाँ, सूर्या लाइफको ३७५, र एशियन लाइफको ४६४ रुपैयाँमा बिक्री ल्याएको थियो ।

अघिल्लो पटकको लिलामीमा बैंकले नेशनल लाईफ इन्स्योरेन्सको १० हजार ३३० कित्ता, सूर्या लाईफ इन्स्योरेन्सको २ हजार ६२० कित्ता, एशियन लाईफ इन्स्योरेन्सको ९ हजार १८० कित्ता शेयर बिक्री गरेको थियो भने नागरिक लगानी कोषको शेयर पुर्ण रुपमा बिक्री भएको थिएन । सो लिलामीमा अवितरित शेयर हाल पुनः बिक्रीमा ल्याएको हो ।

नागरिक लगानी कोषको ८२ प्रतिशत हकप्रद (पुस १४ गते) र सूर्या लाइफको ५ प्रतिशत बोनस सहित १०.५२ प्रतिशत लाभांशको (पुस १७ गते) बुकक्लोज भैसकेका कारण मूल्य घटाएको हो । नेशनल लाइफ र एशियन लाईफको लाभांशको बुकक्लोज नभएका कारण बैंकले अघिल्लो पटकको भन्दा मूल्य बढाएर लिलामी खुला गरेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ पुस २०७७, आइतबार  ११ : ३५ बजे