देशभरका सहकारीहरुमा ४ खर्ब ७७ अर्ब बचत, ऋण लगानी ४ खर्ब २६ अर्ब

0
Shares

देशभर संचालनमा रहेका झण्डै ३० हजार सहकारी संस्थाहरुले पौने ५ खर्ब रुपैयाँ बचत संकलन गरेर सवा ४ खर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।

सहकारी विभागका अनुसार हाल २९ हजार ८ सय ८६ वटा सहकारी संचालनमा रहेका छन् । यी संस्थाहरुले ४ खर्ब ७७ अर्ब ९६ करोड ११ लाख ४६ हजार ४७३ रुपैयाँ बचत संकलन गरेर र कूल ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख ११ हजार ३ सय ८१ रुपैयाँ ऋण लगानी गरेको पाइएको हो ।

सहकारी विभागले २०७७ श्रावणदेखी कात्र्तिकसम्म सातै प्रदेश तथा स्थानीय तहहरुसंगको सहकार्यमा गरेको अध्ययन अनुसार मुलुकभरी रहेका सहकारीमा कूल शेयर पूँजी ९४ अर्ब १० करोड ५० लाख १५ हजार ८ सय ३ रहेको छ । यी संघसंस्थाले मुलुकभर ८८ हजार ३ सय ९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन्।

देशभर २० वटा विषयगत केन्द्रीय संघ, १ वटा राष्ट्रिय सहकारी बैंक, १ वटा राष्ट्रिय सहकारी महासंघ, ७० वटा जिल्ला सहकारी संघ र २४१ वटा विषयगत जिल्ला सहकारी संघहरू क्रियाशील रहेको तथ्यांक विभागको छ ।

सहकारी संघसंस्थामा आवद्ध कूल सदस्य संख्या ७३ लाख ७ हजार ४ सय ६२ रहेको छ । कूल सदस्यमध्ये महिला सदस्य ५६ प्रतिशत र पुरुष सदस्य ४४ प्रतिशत रहेका छन् । पुरुष सदस्य सङ्ख्याको तुलनामा महिला सदस्य सङ्ख्या १२% बढी हो ।

विभागको तथ्याकंअनुसार बाग्मती प्रदेशमा सहकारीको संख्या सबैभन्दा बढी रहेको छ । यस प्रदेशमा कुल सहकारी सङ्ख्या १० हजार ४ सय १८ रहेको छ । यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या २७ लाख १७ हजार ४ सय ६९ रहेको छ । जसमा महिला १४ लाख ५७ हजार २ सय २ र पुरुष १२ लाख ६० हजार २ सय ६७ जना रहेका छन् ।

सबैभन्दा कम सहकारी संघसंस्था रहेको प्रदेश कर्णाली प्रदेश हो । कर्णाली प्रदेशमा कुल सहकारी सङ्ख्या १ हजार ९ सय ६७ रहेको छ । यो सबैभन्दा कम सहकारी संघसंस्था रहेको प्रदेश हो । यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या ४ लाख ४ हजार ९ सय ५६ जना रहेको छ ।

प्रदेश १ मा कुल सहकरी सङ्ख्या ४ हजार ७ सय ३७ रहेको छ । यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या ९ लाख ३५ हजार ७ सय रहेका छन् ।

प्रदेश २ मा कुल सहकरी सङ्ख्या ४ हजार १ सय ५३ रहेको छ । यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या ५ लाख ५५ हजार १ सय ९७ रहेको छ ।

गण्डकी प्रदेशमा कुल सहकारी सङ्ख्या २ हजार ६ सय ७१ रहेको छ । यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या ११ लाख १६ हजार ६ सय ३२ जना रहेको छ ।

लुम्बिनी प्रदेशमा कुल सहकरी सङ्ख्या ३ हजार ७ सय ५५ रहेको छ । यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या ८ लाख ९८ हजार ६ सय ११ जना रहेको छ ।

सुदुरपश्चिम प्रदेशमा कुल सहकारी सङ्ख्या २ हजार ६० रहेको छन् । यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या ५ लाख ४२ हजार ९ सय ८९ रहेको छ । जसमा महिला ३ लाख १९ हजार १०० जना र पुरुष २ लाख २३ हजार ८ सय ८९ जना रहेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।