हात खाली नजाने सबैभन्दा ठूलो आईपीओ भर्नुअघि जान्नुहोस् विस्तृत विवरण

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणका लागि माघ २ गतेदेखि हालसम्मकै ठूलो साधारण शेयर निष्काशन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

कुल निष्काशित आईपीओमध्ये ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता तथा कर्मचारीहरुका लागि ०.२० प्रतिशतले हुन आउने १ लाख ६० हजार कित्ता शेयर छुट्टाएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा आउनेछ ।

इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्बको आईपीओ माघ २ गतेदेखि निष्काशन हुने

  • २२ महिनादेखि बैंकिङ्ग कारोबारमा

इन्फ्रास्ट्रक्चर बैंक कम्पनी ऐन २०६३ बमोजिम २०७५ जेठ २५ गते पब्लिक कम्पनीमा रुपान्तरण भएको हो ।

नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ बमोजिम २०७५ माघ २८ गते राष्ट्रिय स्तरको पुर्वाधार बैंकको रुपमा बैंकिङ्ग कारोबार गर्न स्वीकृति पाएको थियो । सो लगत्तै बैंकले २०७५ फागुन २२ गतेदेखि (२२ महिना अघि) बैंकिङ्ग कारोबार गर्दै आइरहेको छ ।

बैंकको रजिष्टर्ड कार्यालय कामपा १० कृष्ण टावर नयाँ बानेश्वरमा रहेको छ ।

बैंकले पूर्वाधार क्षेत्र (जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य) हरुमा लगानी गर्ने मूल उद्देश्य लिई स्थापित बैंकले नेपाल राष्ट्र बैंकबाट २०७५ माघ २८ गते राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृति पाएको थियो ।

आईपीओ जारी गर्न बैंकले नेपाल धितोपत्र बोर्डबाट पुस १० गते स्वीकृति पाई नेपाल राष्ट्र बैंकमा पुस १२ र कम्पनी रजिष्टारको कार्यालयमा पुस १४ गते विवरणपत्र दर्ता गराएको छ ।

  • पूँजी संरचना

बैंकको अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ । हाल संस्थापकहरुबाट १२ अर्ब चुक्ता भएकोमा जारी पूँजीके ४० प्रतिशत बराबरको साधारण शेयर निष्काशन गरी बाँडफाँड पछि बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।

बैंकमा संस्थापक शेयरधनीको तर्फबाट नेपाल सरकारको मनोनित १ जना समेत गरी ४ जना, सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना र एक जना स्वतन्त्र सञ्चालक रहनेछन् ।

बैंकमा अर्थ मन्त्रालयको २ करोड कित्ता, नेपाल लाईफको १ करोड ७९ लाख, ग्लोबल आईएमई बैंकको १ करोड ९ लाख ५० हजार, नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड, एनआईसी एशिया बैंकको १ करोड, प्रभु बैंक ९८ लाख, नेपाल पुनर्बीमा कम्पनी ४९ लाख ४२ हजार, एलआईसी ८४ लाख, एशियन लाइफ ३५ लाख र परामर्शदता कम्पनी इमर्जिङ्ग नेपालको २५ लाख कित्ता शेयर बैंकमा रहेको छ ।

यसैगरी नितिश अग्रवालको २४ लाख २५ हजार, विशाल ग्रुपको १५ लाख, र जीबनाथ लामिछानेको १२ लाख ५० हजार कित्ता शेयर रहेको छ ।

  • को-को छन् सञ्चालक ?

बैंकमा अर्थ मन्त्रालयको तर्फबाट वर्ष ५२ को सहसचिव श्रीकृष्ण नेपाल, आईएमई ग्रुपको तर्फबाट वर्ष ५५ को नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, बिशाल ग्रुपको तर्फबाट वर्ष ४७ को बिशाल अग्रवाल र इमर्जिङ्ग नेपालको तर्फबाट वर्ष ६४ का लालमणि जोशी सञ्चालक रहेका छन् । बैंकमा ४७ देखि ६४ वर्ष उमेर समुहको सञ्चालक रहेका छन् ।

बैंकमा हाल भुपेन्द्र पाण्डे निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका छन् । एफ सि ए, एमबिएस शैक्षिक योग्यता हासिक गरेका पाण्डेसँग राष्ट्रिय वाणिज्य बैंकमा १४ वर्ष कार्य गरेको अनुभव छ । उनी बैंक स्थापना कालदेखि नै नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका थिए ।

  • आईपीओ किन ?

बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा पुर्वाधार विकास सम्बन्धी व्यवसायको जोखिम धारण क्षमता बढाउन तथा वित्तीय तथा आर्थिक गतिविधिलाई विस्तार गर्न आवश्यक पूँजी व्यवस्था गर्न आईपीओ जारी गर्न लागेको जनाएको छ ।

यसैगरी बैंकको प्रबन्धपत्र तथा विनियमावलीमा उल्लेखित उदेश्य अनुरुपको कार्य गर्नका लागि आवश्यक पूँजी संकलन गर्ने तथा बैंकको प्रबन्धपत्रमा उल्लेखित जारी पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा जारी गरी कम्पनी सञ्चालनमा सर्वसाधारणको प्रतिनिधित्व गराउन आईपीओ जारी गथर्न लागेको हो ।

बैंकले आईपीओबाट प्राप्त रकम चालु आवमा ४ अर्ब ३२ करोड रुपैयाँ स्वीकृत पुर्वाधार परियोजनाहरुमा कर्जा तथा सापटमा र ३ अर्ब ६८ करोड रुपैयाँ उच्च लगानी प्रतिफल दिने बजारका लगानी उपकरणहरुमा उपयोग गर्ने कार्ययोजना बनाएको छ । आगामी आवबाट बैंकले आफ्नो लगानी विस्तार गर्दै प्रँजीको प्रतिफल बढाउँदै लैजाने जनाएको छ ।

  • बैंकको आधारभूत वित्तीय अवस्था औषतभन्दा कमजोर

बैंकले जारी गर्न लागेको आईपीओलाई क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले ‘इक्रा एनपि आईपीओ ग्रेड ४’ रेटिङ्ग दिएको छ । इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ्गले बैंकको आधारभूत वित्तीय अवस्था औषतभन्दा कमजोर आधार रहेको जनाउँछ ।

इक्राले बैंकलाई ‘इक्रा एनपि इस्यूअर रेटिङ्ग ट्रिपल बि’ दिएको छ । यो क्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम श्रेणिको सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा लिइन्छ ।

  • यस्तो छ वित्तीय विवरण

बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैंकले गत आवको अवस्था अनुसार बैंकको चुक्ता पूँजी १२ अर्ब, सञ्चित नाफा १ अर्ब २३ करोड ४३ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंकको खुद नाफा ८४ करोड ७१ लाख ४५ हजार १८५ रुपैयाँ रहेको छ भने वार्षिक प्रतिशेयर आम्दानी ७.०६ रुपैयाँ र वार्षिक प्रतिशेर नेटवर्थ ११३.६२ रुपैयाँ रहेको छ ।

आव २०७४/७५ मा ११ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकको सो अवधिमा वार्षिक प्रतिशेयर आम्दानी २ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ५१ रुपैयाँ मात्र थियो ।

चालु आर्थिक वर्षमा बैंकले ७२ करोड ५२ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर ५.८५ रुपैयाँ प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ ११७.६९ रुपैयाँ कायम गर्ने आंकलन गरेको छ ।

तीन वर्ष पछि आव २०७९/८० सम्ममा बैंकको खुद नाफा २ अर्ब २ करोड खुद नाफा कमाउने बैंकको लक्ष्य रहेको छ । यस अवधिमा बैंकको सञ्चित नाफा १ अर्ब ५९ करोड ९६ लाख ३० हजार पुग्ने बैंकको प्रक्षेपण रहेको छ । यस अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ८.८१ रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ ११२.८० रुपैयाँ कायम हुने बैंकको प्रषेपण रहेको छ ।

बैंकको विगत तीन वर्षयताको नेटवर्थमा भएको औसत प्रतिफल ५.७४ प्रतिशत रहेको छ । आईपीओ निष्काशन पूर्वको प्रतिथशेयर आम्दानी कायम राख्न बैंकलाई ६.२१ प्रतिशत प्रतिफल हासिल गर्नुपर्ने हुन्छ ।

  • कहाँबाट दिने आईपीओमा आवेदन ?

लगानीकर्ताले बैंकले जारी गर्ने आईपीओमा लगानीकर्ताले आफ्नै बैंक खाता रहेको नेपाल धितोपत्र बोर्डबाट सि-आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु, मेरो शेयरको वेवसाइट तथा मेरो शेयरको मोबाइल एपबाट समेत आवेदन दिन सक्नेछन् ।

बैंकको आईपीओमा माघ २ गते शुक्रबारदेखि ६ गते मंगलबारसम्म आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले ५ लाख रुपैयाँसम्मको आवेदन दिनेले स्वच्छिक रुपमा र ५ लाखभन्दा बढीको आवेदन दिने लगानीकर्ताले अनिवार्य रुपमा प्यान नम्बर उल्लेख गर्नुपर्ने हुन्छ ।

  • कति दिने आवेदन ?

पछिल्ला समयमा निष्काशन भैरहेको आईपीओमा उच्च आवेदनका कारण शेयर नपाइरहेको अवस्था छ । तर नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ सबैभन्दा ठूलो भएका कारण यो सार्वजनिक निष्काशनमा भने आवेदन दिने सबै शेयर पाउनेछन् ।

बैंकले सार्वजनिक गरेको आह्वानपत्र अनुसार आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।

पछिल्लो समय सार्वजनिक निष्काशन गरेको प्रभु लाइफको आईपीओमा १० लाख ५१ हजार २१६ वटा आवेदन परेमा २ हजार १६९ आवेदन रद्ध भएका थिए । यो आईपीओमा १० लाख ४९ हजार ४७ वटा आवेदन सदर भएको थियो। यसअनुसार यो आईपीओमा सबैभन्दा ठूलो आईपीओ भएका कारण पनि यसमा १२ लाख भन्दा बढी आवेदन पर्ने आंकलन गरिएको छ ।

बैंकले सर्वसाधारणमा ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणमा जारी गर्न लागेको छ । यसअनुसार १२ लाख आवेदन पुगेको खण्डमा न्यूनतम ६० कित्ता अर्थात ६ हजारको शेयर पाउने सम्भावना देखिन्छ । आवेदन संख्या बढ्दा भने सोभन्दा कम शेयर पाउने अवस्था रहन्छ ।

बैंकको आईपीओ खरीदका लागि पर्ने आवेदन संख्या र माग कित्ताका आधारमा मात्र कति कित्ता शेयर पाउन सकिन्छ भन्न सकिन्छ । अहिले नै आवेदकले यति नै शेयर पाउँछन् भन्न नसकिएपनि यो बैंकको आईपीओ भर्ने सबै आवेदकले हात खाली हुनेछैन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।