स्टेट बैंक अफ इण्डियाका ग्राहकलाई दैलोमै बैंकिङ्ग सेवा, नेपाली बैंकले सुरु गर्लान् ?

0
Shares

छिमेकी मुलुक भारतका बैंकहरुले आफ्ना ग्राहकलाई घरदैलो मै सेवा उपलब्ध गराउन सुरु गरेका छन् । बैंकिङ्ग क्षेत्रको उच्च प्रतिस्पर्धाका कारण बैंहरुले ग्राहक आकर्षित गर्नका लागि घरदैलो मै पुगेर नगद तथा चेक लिने।दिने सेवा प्रदान गर्न सुरु गरेको हुन् ।

भारतमा पछिल्लो समयमा एसबिआई बैंकले सुरु गरेको भएपनि अन्य बैंकहरुले पनि यस्तो सेवा प्रदान गर्दै आएका छन् । तर, नेपालको सन्दर्भमा बैंकिङ्ग क्षेत्रमा उच्च प्रतिस्पर्धा भएपनि ग्राहकमुखी प्रतिस्पर्धामा भन्दा पनि ब्यवसायमुखी धेरै हुने गरेको देखिन्छ ।

बैंकहरुले विजनेश खोसाखोस गर्नका लागि प्रतिस्पर्धा गर्ने गरेको विगत स्पष्ट छ । नेपाली बैंकहरुले निक्षेपकर्तालाई खासै सम्मान दिएको अवस्था पनि छैन । बैंकहरुले ऋणीलाई जति महत्व निक्षेपकर्तालाई दिएको देखिँदैन । ऋणी मार्फत आम्दानी हुने भएकाले बैंकहरुले ऋणीहरुलाई बढी महत्व दिइरहेका छन् तर बैंक चल्ने मुख्य आधार निक्षेपकर्ता भएपनि ऋणीलाई जति महत्व निक्षेपकर्तालाई दिएको देखिँदैन ।

नेपाली बैंकहरुले खर्च घटाउने कुरा आउने वित्तिकै निक्षेपको ब्याजदर घटाउने कुरा गर्छन् । ब्याजदरमा तलमाथि भएको खण्डमा सबैभन्दा पहिला र सजिलै निक्षेपको ब्याज घटाउँछन् । तर, कर्जाको ब्याजदर घटाउनका लागि बैंकहरुमै धाउँदा समेत मुस्किल हुन्छ ।

पछिल्लो समयमा केन्द्रीय बैंकले निक्षेपकर्तालाई बचाउने गरी नीति ल्यायो । तर, बैंकहरु तयसको विरुद्धमा मुद्दतीको ब्याजदर समेत घटाएर बचतकर्तालाई नै असर पुग्ने गरी काम गरिहरको अवस्था छ ।

बचतको ब्याजदर धेरै नघटोस् भनेर राष्ट्र बैंकले मुद्दती निक्षेप र बचतको ब्याजदर अन्तर ५ प्रतिशत कायम ग¥यो । तर, बैंकहरुले बचतको ब्याजदर बढाउनभन्दा मुद्दती निक्षेपको ब्याजदर घटाएर बचतको ब्याजदर २ प्रतिशत हाराहारीमा नै राखेको अवस्था छ ।

बैंकहरुले बचतकर्तालाई सहजता हुने सम्मको वातावरण निर्माण गर्न नसकेको अवस्थामा छिमेकी मूलुकमा जस्तो घर मै सेवा प्रदान गर्ने अवस्था आउन अझै समय लाग्ने स्पष्ट देखिन्छ । नेपाली बैंकहरुले ग्राहकको सहजता भन्दा पनि आम्दानी गर्ने माध्यामको रुपमा मात्र बचतका ग्राहकलाई प्रयोग गर्ने गरेको देखिन्छ ।

कोरोनाको अवधिमा केही फाइनान्स कम्पनीले आफ्ना ग्राहकलाई नगद घरमा नै पुर्याइदिने तथा चेक रिसिभ गर्ने काम भने गरेका थिए । त्यो अवस्थामा पनि बचतकर्ताको भन्दा पनि ऋणीको किस्ता लिने विषयमा बैंक वित्तीय संस्था घरमै जान पनि सक्रिय भएको अवस्था थियो ।

भारतमा बैंकिङ्ग ग्राहकलाई घरमै बसी बसी चेक, डिमाण्ड ड्राफ्ट, पे अर्डर, अकाउन्ट स्टेटमेन्ट, टर्म डिपोजिटको भौचरको सेवा गैर बैंकिङ्ग संस्थाहरुले प्रदान गर्दै आएका थिए, तर अब यो वित्तीय सेवामा नै उपलब्ध हुने थालेको छ ।

स्टेट बैंक अफ इण्डियाले पछिल्लो समयमा सुरु गरेको डोर स्टेप सेवामा नगद प्राप्ती, नगद डेलिभरी, चेक प्राप्ती, फर्म, ड्राफ्टको डेलिवरी, टर्म डिपोजिटको सूचना प्रदान, केवाइसी कागजात लगायतका सेवा घरबाट नै लिन सकिन्छ । यसका लागि ग्राहककको रजिष्ट्रेशन होम ब्रन्चमा हुन्छ । सम्पर्क केन्द्र पूर्ण रुपमा तयार नहुँदासम्म सोही शाखाबाट उक्त सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।

यस्तो सुविधामा ग्राहकले प्रति दिन २० हजार भारुको मात्र कारोबार गर्न सक्छन् । हरेक गैर वित्तीय लेनदेनका लागि ६० र वित्तीय कारोबारका लागि एक सय भारु शुल्क लाग्नेछ । नगद झिक्नका लागि चेक विथड्रल फर्मको साथमा पासबु्क समेत बुझाउनुपर्ने हुन्छ । यस्तो सेवा एक दिन भित्रमा नै हुने बैंकले जनाउएको छ ।

यो सुविधा दृष्टिबिहीन, अशक्त तथा ७० वर्ष भन्दा माथिका ग्राहकका लागि बढी प्रभावकारी हने बैंकले जनाएको छ । यसका लागि खातावालाले पूर्ण रुपमा केबाइसी अपडेट गरेको हुनुपर्छ । खातावाले नै प्रयोग गर्ने मोबाइल नम्बर, खाता खोलेको शाखा देखि ५ किलोमिटरको दूरीमा रहेका ग्राहकले यो सेवा उपयोग गर्न सक्छन् । तर, संयुक्त खाता सञ्चालक, माइनर अकाउन्ट्स, संस्थागत खातावाले यो सेवा लिन सक्दैनन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।