अन्तर बैंक एटीएम कार्ड प्रयोग गर्दा शुल्क लाग्ने, मासिक २ कारोबार निःशुल्क


बैंक तथा वित्तीय संस्थाका ग्राहकले अन्य संस्थाको एटीएम काउन्टर मार्फत कारोबार गर्दा शुल्क तिर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै अन्तर बैंक एटीएम कारोबार गर्दा शुल्क लाग्ने व्यवस्था गरेको हो ।

कोरोना भाइरसका कारण ग्राहकको सहजीकरणका लागि निःशुल्क गरिएको अन्तर बैंक एटीएम कारोबारमा करिब १० महिना पछि पुनः लाग्ने व्यवस्था गरेको हो । बैंकहरुले आगामी माघ १ गते देखि अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिन सक्नेछन ।

एक बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड अन्य बैंक तथा वित्तीय संस्थाको एटीएम काउन्टरमा प्रयोग गर्दा मासिक २ वटा कारोबारमा शुल्क लाग्ने छैन । तर, मासिक २ कारोबार भन्दा धेरैमा प्रति कारोबार २० रुपैयाँका दरले तिर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले सम्बन्धित ग्राहकको पुर्व अनुमति लिएर मात्र इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ लगायतका विद्युतीय बैंकिङ सेवा वापत शुल्क लिन सक्ने व्यवस्था गरेको छ । त्यसैगरी केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले विद्युतीय कारोबारको पासवर्ड तथा यूजरनेम हराएमा वा विर्सिएमा ग्राहकले नै रिसेट गर्न सक्ने व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।