सत्तरी करोडमा खुलेको सनराइज बैंकको दश अर्बको यात्रा, आन्तरिक विवादले असर नगरेको संस्थागत प्रगति

सत्तरी करोडमा खुलेको सनराइज बैंकको दश अर्बको यात्रा, आन्तरिक विवादले असर नगरेको संस्थागत प्रगति

आजभन्दा करिब १३ वर्ष अघि ७० करोड रुपैयाँ पूँजीमा सनराइज बैंकले २०६४ साल असोज २५ गते वाणिज्य बैंकको रुपमा कारोबार सुरु गरेको थियो । स्थापनाको करिब २ वर्षपछि बैंकले सर्वसाधारणबाट ३७ करोड ५० लाख रुपैयाँ पूँजी संकलन गरेको थियो । बैंकले साधारण शेयर निष्कासन गर्दा ३० भन्दा केही धेरै प्रतिशत निष्काशन गरेको भएपनि अहिले बैंकको सर्वसाधारण शेयर हिस्सा ४८.९० प्रतिशत र संस्थापक समुहको हिस्सा ५१.१० प्रतिशत रहेको छ ।

व्यावसायिक घराना दुगड समुहद्धारा प्रवद्र्धित बैंकले पूँजी वृद्धिका लागि हालसम्म ३ पटक हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले १३ वर्षको अवधिमा चुक्ता पूँजी करिब ९ अर्ब रुपैयाँ पुर्याउनका लागि कायम रहेका शेयरधनीबाट थप पूँजी लगानीको माग तथा प्रतिफलको रुपमा बोनस शेयर वितरण गर्दै आएको छ । त्यसैगरी केही विकास बैंक तथा फाइनान्स कम्पनीलाई समेत बैंकले आफुमा विलय गराईसकेको छ ।

सनराइज बैंकले आफ्नो स्थापना भन्दा अघि नै सञ्चालन रहेको मात्र नभई आफुसँगै उदय भएका थप २ बैंकहरु सिटिजन्स बैंक र प्राइम कमर्सियल बैंकसँग समेत प्रतिस्पर्धा गरेर आफ्नो स्थान बनाउन ठूलो संघर्ष गर्नु पर्यो । स्थापनाको २ वर्षमा २१ शाखा मार्फत बैंकिङ्ग सेवा प्रदान गरेको सनराइज बैंकले हाल देशैभर १३९ शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ । आफु भन्दा अग्रज र समकक्षी बैंकहरुसँग प्रतिस्पर्धा गर्दै आएको बैंकमा समय समयमा सञ्चालक समिति र व्यवस्थापक बीचमा हुने गरेका मतभेद नेपाल राष्ट्र बैंकसम्म पुग्दा पनि बैंकको नियमित काम तथा प्रगतिमा भने त्यसको ठूलो असर परेको देखिँदैन ।

स्थापनाको पहिलो वर्ष २ करोड ७२ लाख रुपैयाँ नोक्सानीमा रहेको बैंकले १३ औं वर्ष अर्थात आर्थिक वर्ष २०६६/६७ मा आइपुग्दा १ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ भने १९९.३० रुपैंयाँ बाट घटेर १४९.३५ रुपैयाँ कायम भएको छ ।

‘राइजिङ टू सर्भ' भन्ने लक्ष्यका साथ स्थापना भएको बैंकले साना तथा मझौला व्यवसायमा हुने लगानीलाई प्राथमिकतामा राख्दै आएको छ । शहर केन्द्रित भन्दा पनि ग्रामीण भेगमा बैंकिङ्ग सेवा प्रदान गर्ने गरी स्थापना भएको बैंकले पछिल्लो समयमा प्रविधिमा आधारित सेवालाई पनि उत्तिकै जोड दिँदै आएको छ । हाल बैंकले १३९ शाखा, ५८ वटा शाखा रहित सेवा, १६१ भन्दा बढी एटीएम सञ्जाल र ११ वटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यस अर्थमा बैंकको आकार ठूलो भएको अवस्था छ ।

बैंक स्थापना हुँदा १२६ जनालाई रोजगारी प्रदान गरेकोमा करिब डेढ दशकको अवधिमा एक हजार ५०० जनालाई त प्रत्यक्ष नै रोजगारी प्रदान गरिरहेको छ । स्थापना हुँदा ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकले हालसम्म आइपुग्दा करिब एक खर्ब रुपैयाँ निक्षेप परिचालन गर्ने अवस्थामा आफुलाई उभ्याएको छ ।

सर्वसाधारणमा शेयर निष्काशनपछि दोस्रो बजारमा सूचीकृत बैंकको प्रतिकित्ता शेयर मूलय हालसम्म कै उच्च विन्दु अर्थात ९०० रुपैयाँको हाराहारीसम्म पुगेको थियो । यो अवधिमा बैंकको प्रतिकित्ता शेयरमूल्य न्यूनतम १४५ रुपैयाँ सम्म झरेको तथ्यांकले देखाउँछ । धितोपत्र बजार सूचकले हालसम्मै उच्च बिन्दु तय गर्दै गर्दा पनि बैंकको शेयरमूल्य भने २०७७ पुस २३ गते बिहीबार प्रतिकित्ता २५८ रुपैयाँ छ ।

बैंकले शेयरधनीलाई दिएको हालसम्मको उच्च प्रतिफल भनेको ३३.३३ प्रतिशत बोनस शेयर हो । चुक्ता पूँजी करिब ४ गुणासम्म वृद्धि गर्नुपर्ने भएपछि बैंकले आर्थिक वर्ष २०७२/७३ मा सो बोनस शेयर वितरण गरेको थियो । सोही वर्ष बैंकको शेयरमूल्य उच्चतम बिन्दुमा पुगेको थियो ।

बैंकले साधारण शेयर जारी गरेपछि हालसम्म लगानीकर्तालाई नियमित जस्तै प्रतिफल वितरण गर्दै आएको छ । बैंकले स्थापनाका पहिला २ आर्थिक वर्षहरु र आर्थिक वर्ष २०७०/७१ मा मात्र लगानीकर्तालाई प्रतिफल वितरण गर्न सकेन । सञ्चालनमा आएको १३ वर्ष मध्ये बैंकले १० आर्थिक वर्षमा लगानीकर्तालाई प्रतिफल वितरण गरेको अवस्था छ । यस क्रममा बैंकहले हालसम्मकै थोरै अर्थात ४ प्रतिशत प्रतिफल आर्थिक वर्ष २०६७/६८ मा वितरण गरेको थियो । बैंकको एक कित्ता शेयरका लागि १०० रुपैयाँ लगानी गरेका लगानीकर्ताले हालसम्म १३५ प्रतिशत प्रतिफल पाइसकेको अवस्था छ ।

बैंक स्थापनाको वर्ष आव २०७४/७५ मा ४ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले १३ वर्षपछि गत आर्थिक वर्ष २०७६/७७ मा ९४ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी ८३ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा २ करोड ७२ लाख नोक्सानीबाट बैंक गत आव २०७६/७७ मा आइपुग्दा बैंकले १ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवमा बैंकको शुल्क तथा कमिसन आम्दानी एक अर्ब २८ करोड रुपैयाँ रहेको छ । बैंकले कोर बैंकिङ्ग व्यवसायबाट भन्दा पनि प्रदान गर्ने शुल्कबाट धेरै आम्दानी गरेको देखिन्छ । यसले बैंकको सेवा तुलनात्मक रुपमा महङ्गो रहेको देखिन्छ ।

बैंक पछिल्ला दिनहरुमा डिजिटल बैकिङ्ग सेवामा आक्रमक बन्दै गइरहेको छ । कोरोना भाइरसका कारण सेवा क्षेत्रले डिजिटल प्ल्याटफर्मलाई उच्चतम प्रयोग गरिरहेको अवस्थामा बैंकले पनि डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै सेवा प्रवाह गर्दै आइरहेको छ ।

भौतिक भन्दा पनि भर्चुल कारोबार तथा सेवा आदान प्रदान गर्ने अभ्यास बढेपछि सनराइज बैंकले पनि प्रविधिमा आधारित बैंकिङ सेवालाई केन्द्रमा राख्दै सेवा प्रवाह गर्दै आइरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २४ पुस २०७७, शुक्रबार १३ : ५३ बजे