नेपाल एसबिआई बैंकको लाभांश पारित, मर्जर सम्बन्धी कार्यका लागि संचालक समितिलाई अख्तियारी

0
Shares

नेपाल एसबिआई बैंकको २७ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ९.४७ प्रतिशत लाभांश पारित गरेको छ । साथै उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जरमा जानका लागि सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

पौष २८ गते मंगलबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न साधारण सभाले लाभांश लगायतका प्रस्ताव पारित गरेको हो। सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीमा ९.४७ प्रतिशतका दरले (६% बोनश शेयर र ३.४७% नगद लाभांश) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न/गराउन सक्ने अख्तियारी सञ्चालकसमितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त सभाले बैंकको आ.व. २०७६/७७ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७७ को वासलात, आ.व. २०७६/७७ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत पारित गरेको बैंकले जनाएको छ ।

साधारणसभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.’ को आ.व. २०७६/७७ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । त्यस्तै आ.व. २०७७/७८ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स एस.ए.आर. एसोयिसट्स्, चाटर्ड एकाउण्टेन्ट्स्लाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ ।

साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा/नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।