रेमिट्यान्स आप्रवाहमा दोहोरो अंकको बढोत्तरी कायमै, ५ महिनामा ४ खर्ब १६ अर्ब भित्रियो

0
Shares

चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा रेमिट्यान्स आप्रवाहमा निरन्तर सुधार आएको छ । गत वर्षको तुलनामा भन्दा चालु वर्षमा रेमिटयान्स आप्रवाहको दर दोहोरो अंकले बढेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडका कारण विश्वअर्थतन्त्र शिथिल भइरहेको र रोजगारीका अवसरहरु समेत गुमेको अवस्थामा पनि नेपालमा रेमिट्यान्स आप्रवहमा निरन्तर सुधार देखिएको छ । कोभिडले हुण्डी कारोबारको संञ्जाल बिग्रएपछि औपचारिक माध्यमबाट रकम भित्रनेक्रममा सुधार आएको हो ।

चालु आर्थिक वर्षको ५ महिना अर्थात मंसिर मसान्तसम्ममा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि वृद्धि भई ४ खर्ब १६ अर्ब ८१ करोड पुगेको छ । जुन अघिल्लो महिनाको भन्दा ७९ अर्ब बढी हो । गत कात्तिकसम्म ३ खर्ब ३७ अर्ब ७२ करोड रेमिट्यान्स भित्रिएको थियो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई ३ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.४ प्रतिशतले बढेको थियो

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६९.४ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ८.५ प्रतिशतले वृद्धि भई ४ खर्ब ५९ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.१ प्रतिशतले घटेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।