पेट्रोल तथा डिजेलको मूल्य बढ्यो, हवाई इन्धन तथा एलपी ग्यासको यथावत्

0
Shares

नेपाल आयल निगमले पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य वृद्धि गरेको छ ।सोमबार रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको निगमले जनाएको छ ।

निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल/मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः रु ११० र रु ९३ प्रतिलिटर कायम गरेको छ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ ।

मूल्य समायोजनपश्चात् पनि पेट्रोलमा प्रतिलिटर रु ४.३४, डिजेलमा प्रतिलिटर रु २.९६ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर रु १३४.७२ घाटा रहेको निगमले जनाएको छ ।

अर्धवार्षिकरुपमा निगमलाई रु ४९.८८ करोड घाटा हुने र सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाटा व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

हालको मूल्य समायोजनपश्चात् पनि भरतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर रु ३२.२६ र डिजेल प्रतिलिटर रु ३७.६४ ले नेपालतर्फ सस्तो रहेको पनि निगमले जनाएको छ । निगमले पछिल्लो समय पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ अनुसार प्रत्येक महिनाको १५/१५ दिनको अन्तरमा मूल्य समायोजन गर्दै आएको छ । निगमले एलपी ग्यासको बिक्री मूल्य २०७६ माघ २० गतेदेखि लागू हुने गरी प्रतिसिलिन्डर रु एक हजार ३७५ कायम गरेको थियो ।

इन्डियन आयल कर्पोरेशनबाट १ डिसेम्बर २०२० प्राप्त मूल्यअनुसार मिति गत मङ्सिर २८ मा पेट्रोल तथा डिजेल/मट्टितेलमा साबिक मूल्यमा प्रतिलिटर क्रमशः रु एक र रु दुई ले वृद्धि गरी पेट्रोलको प्रतिलिटर रु १०८ र डिजेल/मट्टितेलको प्रतिलिटर रु ९१ कायम गरेको थियो । त्यसपछि आइओसीबाट १६ डिसेम्बर २०२० र १ जनवरी २०२१ मा प्राप्त खरीद मूल्यमा बढेर आएको तथा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार सो मितिमा मूल्य वृद्धि गर्नुपर्ने देखिएको भए तापनि मूल्यवृद्धि नगरिएको निगमले जनाएको छ । हाल १६ जनवरी २०२१ मा प्राप्त मूल्यअनुसार १ डिसेम्बर २०२० को तुलनामा मूल्यवृद्धि नगर्दा निगमलाई अर्धवार्षिक रु ६७.५५ करोड घाटा हुने अवस्था रहेको निगमले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।