कुमारी बैंक अर्बपति क्लबमा उक्लियो, लाभांश वितरण क्षमता ६४ करोड

0
Shares

कुमारी बैंक लिमिटेड (KBL) ले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्ममा १ अर्ब २१ करोड ६५ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यसअघिका आर्थिक वर्षहरुमा दोस्रो त्रैमासम्ममा बैंकले १ अर्बभन्दा कम नाफा आर्जन गर्दै आएकोमा चालु आवको पुस मसान्तसम्ममा भने बैंकले पचास प्रतिशतभन्दा धेरै नाफा वृद्धि गर्दै अर्ब नाफा कमाउने बैंकको सूचीमा आफुलाई पुर्याएको छ ।

सोमबार सार्वजनिक भएको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले गत आवको यसै अवधिको तुलनामा ५१.४९ प्रतिशतले नाफा बढाएको हो ।

गत आवको पुससम्ममा बैंकले ८० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा ४१ करोड ३५ लाख रुपैयाँले खुद नाफा बढाएको छ ।

चालु आवको पुस मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा ६३ करोड ७५ लाख रुपैयाँ ५५ हजार रहेको छ । चुक्ता पूँजी रहेको १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ रहेको बैंकले ६ महिनामा आर्जन गरेको यो नाफाबाट शेयरधनीलाई वार्षिक ९.१९ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्दछ ।

नाफा बढेसँगै समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी १७.५३ रुपैयाँ कायम भएको छ । गत आवको यसै अवधिमा १६.८३ रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी ०.७० रुपैयाँले बढेको हो । बैंकले गत आवको नाफाबाट १०.८५ प्रतिशत बोनस शेयर वितरण गरेर चुक्ता पूँजी बढाएपनि नाफा उल्लेख्य बढ्दा समेत प्रतिशेयर आम्दानीमा सुधार नै देखिएको छ ।

पुस मसान्तसम्ममा बैंकको जगेडा कोषमा ३ अर्ब ५० करोड रुपैयाँ सञ्चित रहँदा प्रतिशेयर नेटवर्थ १३०.८२ रुपैयाँ कायम भएको छ भने बैंकको शेयरधनी कोषमा ६८ करोड ५१ लाख रुपैयाँ र शेयर प्रिमियममा ८ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

यस्तै बैंकको पूँजीकोष अनुपात १४.९१ प्रतिशत, निष्क्रिय कर्जा अनुपात १.०६ प्रतिशत, मूल्य आम्दानी अनुपात १६.१९ गुणा, कोषको लागत ५.८२ प्रतिशत, आधारदर ७.९२ प्रतिशत र स्प्रेड रेट ३.५८ प्रतिशत छ ।

पुस मसान्तसम्ममा बैंकले १ खर्ब २२ अर्ब ७२ करोड ८८ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब १४ अर्ब ७३ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट बैंकले पुस मसान्तसम्ममा २ अर्ब ४९ करोड ७७ लाख ८९ हजार रुपैयाँ ब्याज आम्दानी र १ अर्ब ७४ करोड ५ लाख २३ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७ र सञ्चालन नाफा साढे ५३ प्रतिशत बढेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।