प्रभु बैंकको नाफा ४० प्रतिशतले बढ्दा ६ महिनामै कमायो डेढ अर्ब, बाँड्न मिल्ने कति ?

0
Shares

प्रभु बैंक (PRVU) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात ६ महिनामा डेढ अर्ब बढी नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा झण्डै ४० प्रतिशत बढी हो ।

पुस मसान्तसम्म बैंकले १ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.८७ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा झण्डै एक अर्ब रुपैयाँ छ ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि खुद नाफा बढेको हो। साथै बैंकले यस अवधिमा कर्जा तथा निक्षेपमा पनि उल्लेखीय सुधार गरेको छ । साथै बैंकले यस अवधिमा खराब कर्जा समेत घटाउन सफल भएको छ । जसले गर्दा बैंकको नाफामा उच्च सुधार देखिएको हो । गत आवको पुस मसान्तसम्ममा ३.१२ प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा २.०६ प्रतिशतमा झरेको छ।

बैंकको निक्षेप २५.८५ प्रतिशत बढेर १ खर्ब ६२ अर्ब २ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी २६.८२ प्रतिशत बढेर १ खर्ब २६ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। जसबाट बैंकले २ अर्ब ६९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन समीक्षा अवधिको तुलनामा ९.७२ प्रतिशत धेरै हो । यस अवधिमा बैंकको संचालन नाफा ४२.७३ प्रतिशत बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी ११ अर्ब ३४ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब १८ करोड ६१ लाख रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब १७ करोड रुपैयाँ सञ्चित छ। बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५ पैसाबाट बढेर २६ रुपैयाँ ७७ पैसा पुगेको छ। त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा, मूल्य आम्दानी अनुपात १५.३२ गुणा छ ।

समीक्षा अवधिमा बैंकको बेस रेट ९.४५ प्रतिशतबाट ७.२४ प्रतिशतमा झरेको छ भने स्प्रेड ४.८३ बाट ३.६४ प्रतिशतमा झरेको छ। जसको कर्जाको निक्षेप अनुपात ६६.४३ प्रतिशत छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।