सनराइज बैंकको वित्तीय विवरणमा पनि देखिएन सुधार

0
Shares

पछिल्लो समयमा बैंक संसञ्चालक समिति र उच्च व्यवस्थापनबीचका असमझदारीहरु सार्वजनिक भइरहेको सनराइज बैंक (SRBL) को प्रगति स्थीर देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार आम्दानीको मुख्य स्रोत ब्याज आम्दानी नै खुम्चिएको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप तथा कर्जा सामान्य बढेको छ । खुद ब्याज आम्दानी घटेको छ भने सञ्चालन खर्च बढेको छ ।

खराब कर्जा घटाएकाले सञ्चालन मुनाफा र खुद नाफामा झिनो सुधार देखिएको छ । बैंकको इम्पेरमेन्ट चार्ज रिभर्सबाट नाफामा सामान्य सुधार देखिएको हो। तर पूँजी बढेको अनुपातमा नाफा कम हुँदा प्रतिशेयर आम्दानी घटेको छ भने बैंकको वितरण योग्य नाफा समेत प्रभावित भएको छ ।

सनराइज बैंकले चालु आवको पुस मसान्तसम्म ९४ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.५३ प्रतिशत मात्र बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २१ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

बैंकको व्यवसायमा खासै सुधार देखिँदैन, समीक्षा अवधिमा बैंकको निक्षेप २.४२ प्रतिशत बढेर ९२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ भने कर्जा ७.३४ प्रतिशत बढेर ८६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। जसको कर्जा निक्षेप अनुपात ७७.१८ प्रतिशत छ । कर्जा सामान्य बढेपनि बैंक खराब कर्जा घटाउन भने सफल देखिएको छ । अघिल्लो पुससम्म १.६९ प्रतिशत रहेको बैंकको खराब कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १.०६ प्रतिशतमा झरेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी नै ११.३१ प्रतिशत घटेको छ । बैंकले पुससम्म १ अर्ब ८१ करोड रुपैयाँमा खुद ब्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी घट्दा बैंकको नाफा प्रभावित भएको हो ।

चुक्ता पूँजी ९ अर्ब ४८ करोड ७९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ र शेयरधनी कोषमा ७९ करोड ३४ लाख रुपैयाँ सञ्चित छ। बैंकको चुक्ता पूँजीसँगै शेयरधनीकोष र जगेडामा सामान्य वृद्धि देखिएको छ ।

बैंकको आधार ब्याजदर ९.९९ प्रतिशतबाट ७.२९ प्रतिशतमा झरेको छ भने स्प्रेड ५.१४ बाट घटेर ४.१ प्रतिशतमा पुगेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६ पैसाबाट घटेर २० रुपैयाँ १ पैसामा झरेकोे छ। त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ६७ पैसा तथा मूल्य आम्दानी अनुपात १३.४९ गुणा छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।