ज्योति विकास बैंकको नाफा ८.८२% ले बढ्यो

0
Shares

ज्योति विकास बैंक (JBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा ८.८२ प्रतिशतले बढाएको छ ।

बुधबार सार्वजनिक भएको बैंकको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ३० करोड ५५ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

गत आवको यसै अवधिमा २८ करोड ८ लाख ३४ खुद नाफा कमाएको बैंकको नाफा २ करोड ४७ लाख ६५ हजार रुपैयाँले वृद्धि भएको हो ।

चालु आवको पुस मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा १५ करोड ७५ लाख ३४ हजार रुपैयाँ रहेको छ । बैंकले पुससम्ममा आर्जन गरेको यो नाफाको आधारमा शेयरधनीलाई वार्षिक ९ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्दछ ।

चालु आवको ६ महिना अवधिमा बैंकले ४४ अर्ब ७५ करोड ८१ लाख ३१ हजार रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ९६ करोड ६० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको अन्त्यसम्ममा बैंकले ३६ अर्ब ३१ करोड ३६ लाख रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ७१ करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । पछिल्लो ६ महिना अवधिमा बैंकको निक्षेप २३.२५ र कर्जा १६.०७ प्रतिशतले बढेको हो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ । गत आवको यसै अवधिमा ७३ करोड ६९ लाख १ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको बैंकले चालु आवको यसै अवधिमा ६४ करोड ८० लाख ८२ हजार रुपैयाँ मात्र आर्जन गरेको छ ।

खुद ब्याज आम्दानी घटेपनि बैंकको अन्य सञ्चालन आम्दानी बढेपछि सञ्चालन नाफा करिब ९ प्रतिशतले बढेर ४३ करोड ७३ लाख २२ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा १ करोड ८२ लाख अन्य सञ्चालन आम्दानी गरेको बैंकले सो शीर्षकबाट १६ करोड ६६ लाख आर्जन गर्दा सञ्चालन नाफा बढेको हो ।

चुक्ता पूँजी ३ अर्ब ४९ करोड ५२ लाख ९३ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ८६ करोड ५९ लाख ५९ हजार रुपैयाँ सञ्चित छ । त्यस्तै बैंकले शेयरधनी कोषमा ५१ करोड ४५ लाख रुपैयाँ सञ्चित गरेको छ ।

बैंकको वार्षिक प्रतिशेयर आम्दानी गत आवमा १६.०७ रुपैयाँ रहेकोमा चालु आवको पुस मसान्तसम्ममा १७.४९ रुपैयाँ कायम भएको छ ।

यस अवधिमा बैंकको निष्कृय कर्जा अनुपात ०.१२ ले घटेर ०.६८ प्रतिशतमा सुधारिएको छ । यस्तै बैंकको प्रतिशेयर नेटवर्थ १३९.३९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२ं.८१ गुणा, पूँजीकोष अनुपात १३.५१ प्रतिशत, कोषको लागत ६.४५ प्रतिशत, आधारदर ८.८२ प्रतिशत छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।