एनएमबि लघुवित्तको सञ्चालन मुनाफा ३ गुणा बढेपनि प्रतिशेयर आम्दानीमा भारी गिरावट


एनएमबि लघुवित्तले चालु आर्थिक वर्ष २०७७ ०७८ को दोस्रो त्रैमासमा १२ करोड १९ लाख ८२ हजार रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ४ करोड ४ करोड ८१ लाख ८५ हजार रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो ।

व्याज आम्दानीमा सुधार गरी व्याज खर्च घटाएको लघुवित्तले समीक्षा अवधिमा खुद व्याज आम्दानी १३ करोड ६७ लाख ६१ हजार रुपैयाँबाट बढाएर २१ करोड १ लाख ५२ हजार पुर्याएको छ ।

साढे ६ करोड रुपैयाँ शुल्क तथा कमिशन आर्जन गरेको लघुवित्तको अन्य सञ्चालन आम्दानी भने घटेको छ । कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेको लघुवित्तको सम्भावित जोखिम वापतको व्यवस्थामा ४ करोड २५ लाख १९ हजार रुपैयाँ छुट्याएको छ ।

कर्मचारी बोनसका लागि १ करोड २२ लाख ३६ हजार रुपैयाँ छुट्याएको लघुवित्तले करका लागि ३ करोड ३० लाख ३६ हजार रुपैयाँ राखेर ७ करोड ७० लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ४ करोड ९० लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा २१ करोड ६ लाख रुपैयाँको चुक्ता पूँजीलाई ५३ करोड ९८ लाख ५ हजार रुपैयाँ पुर्याएको लघुवित्तको प्रतिशेयर आम्दानी ४६.५९ रुपैयाँबाट २८.५६ रुपैयाँमा झरेको छ ।

मूल्य आम्दानी अनुपात ३९.८५ गूणाले धेरै रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १४५.०७ रुपैयाँ छ । लघुवित्तको जगेडा कोषको आकार समीक्षा अवधिमा १७ करोड ५८ लाख ९७ हजारबाट २४ करोड ३२ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।