नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओको प्रि-अलटमेन्ट आज, शुक्रबार बाँडफाँड

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बुधबार साँझ प्रि अलटमेन्ट हुने भएको छ ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार बुधबार साँझ प्रि अलटमेन्ट सम्पन्न गरी स्वीकृतिका लागि बोर्ड पठाउन लागिएको हो ।

धितोपत्र बोर्डबाट स्वीकृति पश्चात आईपीओ शुक्रबार बिहान बाँडफाँड गर्ने तयारी गरिएको क्यापिटलले नोटबजारलाई जानकारी दिएको छ । ‘धितोपत्र बोर्डबाट स्वीकृतिमा ढिलाई नभएको खण्डमा शुक्रबार बिहान बाँडफाँड गर्ने तयारी छ ।’ बोर्डका एक अधिकारीले भने ।

यस बैंकको आईपीओमा साढे १५ लाख आवेदन परेकाले दोहोरो आवेदन हटाएर योग्य आवेदक छुट्टाउने क्रम अन्तिम चरणमा पुगेको छ । साँझसम्म प्रि अलमेन्ट गरी स्वीकृतिका लागि बोर्डमा पेश हुने क्यापिटलको भनाई छ । बोर्डबाट स्वीकृति हुन ढिलाई भएको खण्डमा भने पुर्वनिर्धारित बाँडफाँड समय हेरफेर हुनसक्ने ती अधिकारीले बताए ।

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा अन्तिम दिन माघ ६ गतेसम्ममा १५ लाख ५० हजार ३२५ वटा आवेदक परेको थियो । त्यसबाट दोहोरो आवेदन हटाएपछि कति जना आवेदकले कति कित्ता शेयर हात पार्नेछन् भन्ने यकिन हुनेछ ।

सर्वसाधारणबाट ७ अर्ब ५८ करोड ४० लाख रूपैयाँका लागि आवेदन माग्दा कुल १८ अर्ब ३४ करोड रुपैयाँ बराबरका लागि आवेदन परेको हो ।

धितोपत्र बाँडफाँड निर्देशिका २०७४ अनुसार आवेदन दिएका सबैलाई १० कित्ता र सोभन्दा बढी शेयर बाँडफाँड गर्न पुग्ने अवस्थामा १० ले गुणा जाने अंकमा बाँडफाँड गर्नुपर्छ । यसअनुसार इन्फ्रास्ट्रक्चरमा परेको आवेदन अनुसार ५० कित्तासम्मका लागि आवेदन दिने सबैले मागेजति नै शेयर पाउने छन् । बाँकी रहेको शेयरको संख्या अनुसार गोलाप्रथाबाट थप १० कित्ताका दरले पुगेको हदसम्म ६० कित्ता वा ७० कित्तासम्म पनि शेयर पाउनसक्नेछन् । यद्यपी सबै आवेकदबाट ठूलो संख्यामा आवेदन माग भएकाले १० देखि ४० कित्ताका आवेदक कम हुँदा ६० कित्ताभन्दा बढी शेयर पाउने सुम्भावना न्यून रहेको बताइन्छ ।

कम्पनीले सर्वसाधारणमा ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर निष्काशन गरेको हो । कुल ८ करोड कित्ता शेयर निष्काशनमा ल्याएकोमा ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ ।

आईपीओमा माघ २ देखि ६ गतेसम्म नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा मेरो शेयरको मोबाइल एप तथा वेवसाइट मार्फत भर्न सकिने व्यवस्था गरिएको थियो ।

बैंंकको आईपीओ हालसम्मकै ठूलो साधारण शेयर (आईपीओ) हो । जारी पूँजी २० अर्ब रहेको बैंकले जारी पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । यो नै हालसम्मकै ठूलो सार्वजनिक निष्काशन हो । यसअघि एचआईडीसिएलले सर्वसाधारणमा २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर जारी गरेको थियो ।

पूर्वाधार क्षेत्र (जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य) हरुमा लगानी गर्ने मूल उद्देश्य लिई स्थापित बैंकले नेपाल राष्ट्र बैंकबाट २०७५ माघ २८ गते राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृति पाएको थियो। सो लगत्तै २०७५ फागुन २२ गतेदेखि नै आफ्नो औपचारिक बैंकिङ्ग कारोबार सुरु गरेको थियो ।

बैंकको अधिकृत पूँजी ४० अर्ब र संस्थापकहरुबाट चुक्ता पूँजी १२ अर्ब छ । सर्वसाधारणहरुलाई शेयर निष्काशनपछि बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ । नेपाल सरकारको समेत लगानी रहेको बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।