ठूलो बैंकको ठूलै कमाई: ग्लोबल आईएमई बैंकले ६ महिनामै कमायो २ अर्ब ३१ करोड खुद नाफा

0
Shares

अघिल्लो वर्ष दुई वाणिज्य बैंक मिलेर झनै ठूलो बनेको ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ठूलै नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । चुक्ता पूँजी बढेको अनुपातमा बैंकलाई प्रतिशेयर आम्दानी सन्तुलनमा राख्न सकश पर्ने आँकलन भइरहँदा बैंकले प्रगतिउन्मुख वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कोरोना कहरका बीचमा पनि बैंकले चालु आर्थिक वर्षको पुस मसान्त अर्थात ६ महिनाको अवधिमा २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२ करोड ९२ लाख रुपैयाँ अर्थात ३७.३२ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको प्रतिशेयर आम्दानी समेत १७ रुपैयाँ ७७ पैसाबाट बढेर २१ रुपैयाँ ४० पैसा पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४३ करोड २० लाख रुपैयाँ कमाएको छ । १४ प्रतिशतले पूँजी बढाएको बैंकले साढे ३७ प्रतिशत नाफा बढाउँदा २० प्रतिशत बढीले प्रतिशेयर आम्दानीमा सुधार आएको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप २ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँबाट बढेर २ खर्ब ३४ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको कर्जा लगानी १ खर्ब ९० अर्ब ३३ करोड रुपैयाँबाट बढेर २ खर्ब ३ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। बैंकको निक्षेप करिब साढे १० प्रतिशत तथा कर्जा ७ प्रतिशत बढीले वृद्धि भएको हो । कर्जाको आकार बढ्दा बैंकको खराब कर्जा सामान्य बढेकोे छ। बैंकको खराब कर्जा १.२० प्रतिशतबाट १.७२ प्रतिशतमा उक्लिएको छ ।

समीक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी नै ४ अर्ब ७७ करोड १८ लाख रुपैयाँ गरेको छ भने ३ अर्ब २३ करोड ७६ लाख संचालन मुनाफा गरेको छ ।

चुक्ता पूँजी २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ७० करोड ८ लाख रुपैयाँ तथा शेयरधनीकोषमा १ अर्ब ५२ करोड १० लाख रुपैयाँ रहेको छ।

बैंकको आधार दर ९.६४ प्रतिशतबाट ६.७६ प्रतिशतमा झरेको छ। त्यसैगरी, बैंकको स्प्रेड दर ५.३१ प्रतिशतबाट ४.६९ प्रतिशतमा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ६३ पैसा तथा मूल्य आम्दानी अनुपात १५.८४ गुणा रहेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।