कोरोना बीमा गर्ने २८ हजार भन्दा बढी बीमितले दाबी भुक्तानी रकम नपाएको पाईएको छ । कोरोना बीमा दाबी भुक्तानीको लागि आवश्यक कागजात पुगेका २८ हजार ७४० जना बीमितले भुक्तानी नपाएका हुन् ।
कोरोना बीमा दाबीका लागि आवश्यक कागजात पुगेको तीन दिनभित्रमा दाबी भुक्तानी गर्न अर्थ मन्त्रालयको निर्देशनलाई कम्पनीहरूले अझै कार्यान्वयन गर्न सकेको देखिदैन ।
मन्त्रालयको निर्देशनपछि तुलनात्मक रुपमा भुक्तानी प्रक्रिया तीव्र भए पनि पूर्ण रुपमा भने कार्यान्वयनमा आउन सकेको छैन ।
बीमा समितिको माघ १२ गतेसम्मको तथ्याकंअनुसार हालसम्म ३१ हजार ४४१ जना बीमितले कोरोना बीमाको रकम पाएका छन् । बीमा कम्पनीहरुले ३१ हजार ४४१ जना बीमितिलाई ३ अर्ब ६ करोड १३ लाख २५ हजार रुपैयाँ भुक्तानी गरेका छन् ।
समितिका अनुसार माघ १२ गतेसम्म कारोना बीमा दाबीका लागि चाहिने आवश्यक कागजात पुगेका ६० हजार १८१ वटा दाबी परेका छन् । दाबीका लागि आवश्यक कागजात नपुगेका तीन हजार ७९ वटा फाइल सम्बन्धीत कम्पनीमा नै फिर्ता भएका छन् । ५ हजार ३२८ दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ ।
समितिका अनुसार ७ हजार ८२९ वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी छन् भने २ हजार २६४ वटा दाबीका फाइल अध्ययनका लागि पठाईने क्रममा रहेका छन् ।
त्यस्तै, २२४ वटा दाबी पन्ध्र दिनभित्र दोहोरो आवेदनका कारण नो क्लेममा राखिएको छ । १० हजार १६ वटा दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको बीमा समितिले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया