भारतीय शेयर बजार ५ दिनमा ६% ले घट्यो

0
Shares

कोरोनाका भाइरसको असर फैलदै गएको समयमा समेत निरन्तर सुधारको गतिमा रहेको भारतीय शेयर बजार पछिल्ला दिनहरुमा निरन्तर घट्दो क्रममा देखिएको छ ।गत साताको बिहीबार देखि घट्दो क्रममा रहेको भारतीय शेयर बजार बिहीबारसम्ममा ६ प्रतिशतले घटिसकेको हो ।

अर्थतन्त्रको विपरित दिशामा निरन्तर उकालो लागेको भारतीय शेयर बजारका सूचकहरुले हालसम्मकै उच्च विन्दु कायम गरेपनि पछिल्ला दिनहरुमा घट््न थालेका हुन । कोरोनाका कारण समस्याका परेको आर्थिक क्षेत्रले गतिलिन थालेपछि शेयर बजारको पैसा अन्य क्षेत्र तर्फ सिफ्ट हुन थालेको देखिन्छ ।

बिहीबार मुम्बइ स्टक एक्सचेन्ज सेनसेक्स सूचक ५३६ अंकले घटेको छ भने नेशनल स्टक एक्सचेन्ज निफ्टी १५० अंकले घटेको छ । अर्थतन्त्र करिब ९ प्रतिशतसम्मले नकारात्मक रहने अनुमान गरिएको समयमा शेयरको सुधारलाई बबलको रुपमा विज्ञहरुले ब्याख्या गर्दै आएका थिए । पछिल्ला दिनहरुमा आर्थिक गतिविधिमा आएको सुधारसंगै सन् २०२१ मा भारतीय अर्थतन्त्र मात्र दोहोरो अंकले बढ्ने अन्तराष्ट्रिय मुद्रा कोषले अनुमान गरेको छ ।

बिहीबार शेयर कारोबार बन्द हुँदा सेन्सेक्स ४६८७४ अंकमा झरेको छ भने निफ्टी १३८५० अंकमा झरेको छ । आइटी, बैंकिङ तथा अटो कम्पनीको शेयरको बिक्री चाप बढेपछि बजार नकारात्मक रहेको हो । पछिल्लो समयमा एसियाली बजार मात्र नभै अमेरिकी धितोपत्र बजार पनि नकारात्मक गतिमा देखिदै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।