इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ नतिजा सार्वजनिकमा यस कारण हुँदैछ ढिलाई


नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयर बाँडफाँडको नतिजा सार्वजनिक हुन अझै केही समय लाग्ने भएको छ ।

लगानीकर्ताहरु भने शेयर बाँडफाँडको नतिजा हेर्न सबै विकल्पहरुमा व्यस्त भएका छन् । जसका कारण केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) को मेरो शेयर अहिले डाउन भएको छ । लगानीकर्ताको अधिक ट्राफिक धान्न नसक्दा मेरो शेयर डाउन भएको छ । यद्यपी अहिलेसम्म बैंकको शेयर बाँडफाँडको नतिजा कतै पनि सार्वजनिक भएको छैन ।

विगतमा आवेदक धेरै भए पनि शेयर पाउने लगानीकर्ताको संख्या कम हुने भएकाले थोरै तथ्यांक प्रशोधन गर्न समय पनि थोरै लाग्दै आएको थियो । जसका कारण कम्पनीहरुका शेयर निष्काशन तथा बिक्री प्रबन्धकहरुले बाँडफाँड प्रकृयामा सहभागि गराएका सबै आवेदकको तथ्यांकबाट केही समयमा नै शेयर पाउनेहरुको तथ्यांक प्रशोधन गर्दै आएका थिए ।

पुर्वाधार बैंकको हकमा भने गोलाप्रथामा सहभागि गराइएका सबै आवेदकले शेयर पाएका छन् । ५० कित्ता वा सोभन्दा तलको संख्यामा शेयर माग गर्नेलाई मागे जति र ५० कित्ताभन्दा धेरै शेयर माग गर्नेहरु मध्येबाट ४ लाख ९२ हजार २७ जनालाई गोलाप्रथाबाट थप १० कित्ता शेयर बाँडिएको छ ।

निष्काशन बन्द हुने समयसम्ममा १५ लाखभन्दा बढी आवेदन परेको भए पनि बैंक भेरिफिकेशन पश्चात कुल १४ लाख ८१ हजार २८४ आवेदकको तथ्यांक मात्र आएको एनआईबिएल एस क्यापिटलले जनाएको छ । जसमा ६ हजार २७६ आवेदन रद्ध भई १४ लाख ७५ हजार ८ आवेदकलाई मात्र शेयर बाँडफाँड प्रकृयामा सहभागि गराइएको थियो ।

उल्लेखित तथ्यांकका आधारमा १४ लाख ७५ हजार ८ आवेदकले नै शेयर पाएका छन् । ६० कित्ता शेयर पाउने ४ लाख ९२ हजार ७२ आवेदक समेतको तथ्यांक प्रशोधनको काम भईरहेको छ । सबै आवेदकको विबरण तयार गर्ने काम तिब्र गतिमा भइरहेको एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

क्यापिटलले भनेको छ, ‘विगतमा थोरै आवेदकको तथ्यांक प्रशोधन गर्न कम समय लागेकाले शेयर बाँडफाँड भएको केही समयमा नतिजा सार्वजनिक हुने गरेको थियो । तर अहिले हामीले १४ लाख ७५ हजार ८ जनाको नै तथ्यांक प्रशोधन गर्नु पर्ने भएकाले नतिजा सार्वजनिक गर्न केही समय लागेको हो । अबको केही बेरमा हामी नतिजा सार्वजनिक गर्छौं ।’

रद्ध भएका ६ हजार २७६ आवेदकमा आफु परियो कि परिएन ? थप १० कित्ता शेयर पाउने ४ लाख ९२ हजार ७२ आवेदकमा परियो कि परिएन ? भन्ने कौतुहलताका कारण सबै आवेदकहरु बैंकको शेयर बाँडफाँड नतिजा पर्खिरहेका छन् ।

नतिजा सार्वजनिक भए पछि नोटबजार डटकममा पनि हेर्न सकिनेछ । यसका लागि तपाईले नोटबजारको शीर्ष स्थानमा रहेको मा क्लिक गरेर १६ अंकको डिम्याट खाता प्रबिष्ट गर्नु पर्ने हुन्छ । यसरी नतिजा खोजी गर्दा तपाईको विबरण नदेखिएको खण्डमा तपाई आवेदन रद्ध हुने ६ हजार २७६ आवेदकको सूचीमा परेको बुभिनेछ भने परेका आवेदकको विबरण देखिनेछ । नोटबजारमा नतिजा प्रकाशन भएको सामग्री देखिए पछि गरिने खोजीको तथ्यांक मात्र औपचारिक हुनेछ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ कसलाई कति कित्ता पर्यो ?

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।